साप्ताहिक संवाददाता
राष्ट्रिय खेलकुदकै क्रममा हतारमा विवाह गर्ने खेलाडी हुन्, त्रिकेटकी सीता रानामगर । नेपाली क्रिकेटले पाएको अहिलेसम्मकै सबैभन्दा राम्रा खेलाडीमध्ये एक हुन्, सीता । उनको हालै विवाह भएको छ । यो प्रेम विवाह हो र उनलाई जीवनभर साथ दिने कसम खाने पनि खेलाडी नै हुन्– बक्सिङका पूर्व खेलाडी दिलीपकुमार लामा ।
यो सबै घटनाक्रममा सिनेमा देखाइने जस्तो केही पनि भएन । विवाह वैशाख ४ मा थियो, दुलही त्यसको अघिल्लो राति मात्र आफ्नो माइतीघर पुगिन् । उनीहरूको विवाह कोहलपुरमा भएको थियो ।
दुलही बनेर उनी कोलपुरस्थित माइती घरबाट मकवानपुरको हेटौंडा पुगिन् । यद्यपि त्यो औपचारिकता मात्र थियो । सीता हतार–हतारमा दाङको लमही फर्किहालिन् र त्यो त्यही स्थान हो, जहाँ राष्ट्रिय खेलकुदको महिला क्रिकेट भैरहेको छ । सोमबार सीताको एपीएफ टिमको खेल थियो र उनी त्यसमा सहभागी पनि भइन् ।