राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो पटक समावेश गरिएको प्याराग्लाइडिङ प्रतियोगितामा नेपाल आर्मीको त्रिभुवन क्लब टिम च्याम्पियन भएको छ । पोखरामा सम्पन्न प्रतियोगितामा नेपाल आर्मी ४ स्वर्ण तथा ४ रजत पदक प्राप्त गरेको थियो । नेपाल आर्मीले एक्युरेसीतर्फ पुरुष र महिला इन्डिभिजुअल, टिम एक्युरेसी तथा पुरुष इन्डिभिजुअल क्रसकन्ट्रीमा थी स्वर्ण पदक हात पारेको हो ।
गण्डकी प्रदेश २ स्वर्ण, १ रजत तथा ४ कांस्य पदक हात पार्दै दोस्रो स्थानमा रह्यो । गण्डकी प्रदेश महिला इन्डिभिजुअल क्रसकन्ट्री र पुरुष क्रसकन्ट्री तर्फ २ स्वर्ण पदक हात पार्न सफल भएको हो । १ रजत र १ कांस्य पदकका साथ प्रदेश नम्बर १ तेस्रो र १ कांस्य पदकका साथ प्रदेश ३ चौथो स्थानमा रहे ।
एक्युरेसी इन्डिभिजुअल पुरुषतर्फ ओभरअलमा १९ अंक बटुल्दै नेपाल आर्मीका सागर नेपालीले स्वर्ण पदक हात पारे । सोही इभेन्टको महिलातर्फ नेपाल आर्मीकी दुर्गामाया गुरुङले ४७९ अंक प्राप्त गर्दै स्वर्ण पदक जितिन् ।
एक्युरेसी टिम इभेन्टमा नेपाल आर्मी १७५ अंक प्राप्त गर्दै स्वर्ण पदक हात पार्न सफल भयो । क्रसकन्ट्री पुरुष इन्डिभिजुअलमा नेपाल आर्मीका सुरज थापाले ओभरअलमा २ हजार ५ सय ९५ अंक बटुल्दै स्वर्ण पदक हात पारे । क्रसकन्ट्री महिला इन्डिभिजुअल इभेन्टमा गण्डकीकी त्रिशा बमजनले १ हजार १ सय ३५ अंकका प्राप्त गर्दै स्वर्ण पदक हात पारिन् । क्रसकन्ट्री पुरुष टिम इभेन्टमा गण्डकी प्रदेशले कुल ९ हजार ५ सय ७६ अंक प्राप्त गरी स्वर्ण पदक जित्यो ।
वैशाख ६ गते पोखरामा सुरु भएको आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको प्याराग्लाइडिङ प्रतिस्पर्धामा ६ स्वर्ण, ६ रजत र ६ कांस्य पदकका लागि १० महिलासहित पुरुष ४९ गरी कुल ५९ जना खेलाडी सहभागी थिए । तीन दिने उक्त प्रतियोगितामा पाँच प्रदेश सहित नेपाल आर्मीले सहभागिता जनाएको थियो । करिब २० वर्ष लामो इतिहास बोकेको नेपालको प्याराग्लाइडिङ खेललाई पहिलो पटक राष्ट्रिय खेलमा समावेश गराइएको हो ।