साप्ताहिक संवाददाता
केहि समय अघि निर्माण चर्चामा रहेको चलचित्र ‘छ माया छपक्कै’को औपचारिक घोषणा गरिएको छ । यो चलचित्रमा कलाकार दीपकराज गिरी र अभिनेत्री केकी अधिकारीले जोडीका रुपमा शिर्ष भूमिकामा रहेर अभिनय गर्ने भएका छन् । यो चलचित्र आमा सरस्वती मुभिजको ब्यानरले गाजलु निर्माता रोहित अधिकारीसँगको सहकार्यमा निर्माण गर्न लागेको हो ।
सोमबार होटल सोल्टीमा आयोजना गरिएको चलचिक्र घोषणा कार्यत्रममा कलाकारहरू दीपक, केकीसहित केदार घिमिरे र जितु नेपालले मुहूर्त सर्ट दिएका थिए । जसमा केकीले दीपकलाई भगाएर विवाह दर्ताका लागि जिल्ला प्रशासन कार्यालय ल्याएकी हुन्छिन् भने केदार सीडीओका भूमिकामा देखिएका थिए । जितु भने केकीलाई दीपकराजबाट भडकाउन प्रयास गरिरहेका थिए । तर दीपकले भनिदिए, ‘उनीप्रति मेरो माया छपक्कै छ ।’ त्यसपछि निर्देशक दीपेन्द्र लामाले ‘कट’ भनेर मुहूर्त सट ‘ओके’ गरिदिएका थिए ।
चलचित्रको छायांकन जेठबाट सुरु हुनेछ भने दशैंमा चलचित्र रिलिज हुनेछ । यसपटक, चलचित्रको मुनाफाको आधा प्रतिशत दिपकराज गिरी र उनको टिमलाई दिने सहमती गर्दै रोहितले एकल लगानी गर्न लागेका हुन् । चलचित्रमा दिपाश्री निरौलालाई सल्लाहाकार निर्देशक भनेर परिचय गराइएको थियो ।