सामाजिक सञ्जाल तन्नेरीहरूका निम्ति सम्बन्ध गाँस्ने गतिलो माध्यम त बनेको छ नै, सँगसँगै सम्बन्धको अन्त्य गर्ने हतियारसमेत भैरहेको छ । त्यही भएर नेपाल प्रहरीका डिआईजी राजीव सुब्बा सामाजिक सञ्जाललाई दुईधारे हतियारका रूपमा व्याख्या गर्छन् । सुब्बा भन्छन्, ‘सामाजिक सञ्जाल उपयोग गर्नेहरूको विवेकमा भर पर्छ ।
ख्यालख्यालमा मायाप्रीति अनि यौन सुखको खोजी । निजी क्रियाकलापको छायांकन अनि त्यसैलाई हतियार बनाएर गरिने अपराध । प्रहरी परिसर काठमाडौंको साइबर सेलमा आएका उजुरीहरू अध्ययन गर्दा थाहा हुन्छ, सामाजिक सञ्जाल तन्नेरीका निम्ति सम्बन्ध जोड्ने माध्यम मात्र बनिरहेको छैन, यो त सम्बन्ध टुटेपछि चरित्रहत्या गर्ने हतियारसमेत भैरहेको छ ।
यो कथा नवलपरासीकी १८–१९ वर्षीया किशोरीको हो । काठमाडौंमा डेरा गरी अध्ययनमा व्यस्त उनी भक्तपुरका २५ वर्षीय तन्नेरीसँग फेसबुकमार्फत जोडिन्छिन् । साथीको सम्बन्ध बिस्तारै प्रेममा परिणत हुन्छ । उनीहरू यति नजिकिन्छन् कि त्यहाँ शारीरिक सम्बन्ध सामान्य मानिन्छ तर सम्बन्धको बाटो सधैंझैं उस्तै रहँदैन । किशोरी आफूसँगको सम्बन्धबाट बिस्तारै अलग्गिन लागेको शंकाकै भरमा केटाले उनीसँग अनेकन प्रश्न गर्न थाल्छन् । शंकाको यही सुरुवात सम्बन्ध कमजोर बनाउन पर्याप्त हुन्छ ।
एकदिन ती तन्नेरीलाई लाग्छ, मेरी प्रेमिका मलाई छाडेर अरू नै कसैसँगको सम्बन्धमा छे । यही शंकापछि उनले सामाजिक सञ्जालको हतियार प्रयोग गरेर बदला लिने प्रयास गरे । सम्बन्ध सहज हुँदा उनीहरूबीचको शारीरिक सम्बन्धको फोटो तथा भिडियो ती तन्नेरीले युवतीका दिदी र दाइलाई पठाइदिए अनि लेखे, ‘तिमीहरूकी बैनीले मेरो वास्ता गर्न छाडी ।’
शारीरिक सम्बन्धका तस्बिर र भिडियो बाहिरिएपछि किशोरीको परिवार आत्तियो । के गर्ने–कसो गर्ने भन्ने अन्यौलका बीच किशोरी प्रहरी परिसर, काठमाडौं पुगिन् । गत फागुन ११ गते उनले ती युवकविरुद्ध साइबर अपराधको जाहेरी दर्ता गराइन् । प्रहरीले तीन दिनपछि अर्थात् फागुन १७ मा युवकलाई नवलपरासीस्थित उनकै घरबाट नियन्त्रणमा लिएर काठमाडौं ल्यायो ।
डफर हन्टर उपनाममा फेसबुक चलाइरहेका ती तन्नेरी प्रहरीको फन्दामा परे । काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि घटनाले अनौठो मोड लियो । प्रहरीकहाँ उजुरी लिएर पुगेकी तिनै युवती रुँदै प्रहरीकहाँ पुगिन् । अभियुक्त पक्राउपछि पनि केटी रुदै आएको देखेर अनुसन्धान अधिकारीहरू आश्चर्यचकित भए । किशोरीले भनिन, ‘अब जे भयो–भयो । मेरो प्रेमीलाई छाडिदिनुस् । म मुद्दा फिर्ता लिन्छु ।’
उक्त मुद्दा हेरिरहेका अनुसन्धान अधिकारीका अनुसार अस्थिर मनोविज्ञान र हठात निर्णय गर्ने परिपाटीले यस्ता घटना भएको पाइन्छ । उनले भने, ‘यो घटनामा पनि किशोरीको मनोविज्ञान छटपटीले भरिएको देखिन्छ ।’
सामाजिक सञ्जालको माध्यमबाट थाहै नपाई सुरु भएको युवा–युवतीको सम्बन्ध उल्झनमा फस्ने मात्र होइन, यौन सम्बन्धको गोपनीयता जोगाउने सीपको अभावमा पनि तन्नेरीहरू समस्याको पासोमा जेलिएका छन् । त्यस्तै भैदियो, तनहुँ घर भएका गुरुङ थरकी २२ वर्षीया युवतीलाई । तीन वर्षअघिको कुरा हो । सामाजिक सञ्जाल फेसबुकबाट उनी लमजुङ घर भै बीबीएस अध्ययनरत २१ वर्षीय कथित दलित युवासँग जोडिइन् । सामान्य कुराकानीबाट सुरु भएको उनीहरूको सम्बन्ध झांगिँदै प्रेमसम्म पुग्यो । सम्बन्ध जोडिएपछि उनीहरूबीच गोप्यताको पर्खाल मात्र भत्किएन, सबै निजी कुरा साटासाट भए । समयक्रममा उनीहरूको प्रेम शारीरिक सुखको बिन्दुसम्म पुग्यो ।
यद्यपि समय सधैं उस्तै कहाँ रहन्छ र ? एक त आफुखुसी प्रेम, दोस्रो कथित दलित युवासँग । युवतीको परिवारले उनको विवाह बेलायतवासी एक युवासँग गाँस्ने निर्णय गरिदिए । कथित दलित युवासँगको प्रेममा विश्राम लगाउँदै युवतीले २०७५ माघ २६ गते विवाह गरिन् ।
आफ्नी प्रेमिकाले धोका दिएर अरूसँगै विवाह गरेको थाहा पाएपछि ती युवाले आफूहरूबीचको शारीरिक सम्बन्धको तस्बिर तथा भिडियो दुई नक्कली फेसबुक प्रोफाइल खोलेर प्रेमिकाका श्रीमान् र अरु आफन्तलाई पठाइदिए । त्यसपछि जे भयो, त्यो युवतीका निम्ति कल्पनाबाहिरको कुरा थियो ।
भर्खर विवाह सम्बन्ध गाँसिएको परिवारका सदस्यले उनको चरित्रमाथि प्रश्न त उठाए नै भर्खरै सुरु भएको वैवाहिक सम्बन्ध नै धरापमा पर्यो । वर पक्षले उनीमाथि विगतका गल्तीहरू देखाउँदै सम्बन्ध विच्छेदका निम्ति दबाब दिए । अन्ततः प्रेममा रहँदा खिचिएका गोप्य तस्बिर र भिडियो सार्वजनिक भएकै कारण उनी सम्बन्ध–विच्छेद स्वीकार गर्न बाध्य भइन् ।
अचानक आइपरेको आपत्पछि ती युवती उजुरी लिएर प्रहरी परिसर काठमाडौं पुगिन् । उनको उजुरीका आधारमा २०७५ फागुन ८ गते काठमाडौं जिल्ला अदालतले ती कथित प्रेमीविरुद्ध पक्राउ पुर्जी जारी गर्यो । त्यसैका आधारमा प्रहरीले उनलाई २०७५ फागुन १२ गते पक्राउ गर्यो ।
उक्त मुद्दा हेरिरहेका प्रहरी परिसर काठमाडौंका प्रहरी अधिकारीका अनुसार मुद्दा दर्ता गर्ने बेला र त्यसपछिका दिनमा युवती यति धेरै मानसिक तनावमा थिइन् कि उनलाई सम्झाउन प्रहरीलाई नै हम्मे–हम्मे परेको थियो । ती प्रहरी अधिकारीले भने, ‘युवतीका बाबु धरधरी रुँदै सहयोगका लागि आग्रह गर्थे । आफ्नी छोरीको जीवनमा आइपरेको यस्तो बज्रपातले उनलाई कति चोट पुर्यायो होला ?’
सामाजिक सञ्जाल तन्नेरीहरूका निम्ति सम्बन्ध गाँस्ने गतिलो माध्यम त बनेको छ नै, सँगसँगै सम्बन्धको अन्त्य गर्ने हतियारसमेत भैरहेको छ । त्यही भएर नेपाल प्रहरीका डिआईजी राजीव सुब्बा सामाजिक सञ्जाललाई दुईधारे हतियारका रूपमा व्याख्या गर्छन् । सुब्बा भन्छन्, ‘सामाजिक सञ्जाल उपयोग गर्नेहरूको विवेकमा भर पर्छ । यसबाट फाइदा पनि लिन सकिन्छ अनि बदला पनि ।’
यसमा प्रेम सम्बन्धमा रहँदा गोप्य क्रियाकलापहरूको भिडियो तथा फोटो खिच्न सहज मान्ने प्रवृत्ति सबैभन्दा घातक देखिन्छ । धेरैजसो सम्बन्धको अन्त्यपछि केटा पक्षले प्रेममा रहँदाका तिनै गोप्य तस्बिर एवं भिडियोलाई बार्गेनिङको हतियार बनाइरहेको पाइन्छ ।
माथीका दुई उदाहरणले कसरी सामाजिक सञ्जालको प्रयोग बदलाका निम्ति उपयोग भैरहेको छ भन्ने मात्र देखाउँदैन कसरी तन्नेरीहरू गैरकानुनी हर्कतका कारण आफ्नो र पूर्वप्रेमिका दुवैको भविष्य भड्खालोमा हालिरहेका छन् भन्ने समेत देखाउँछ ।
त्यसो त सामाजिक सञ्जाल अब प्रेम वियोगमा दुरुप्रयोग हुने हतियार मात्र रहेन, अरुको चरित्र हत्या गरेर रमाइलो गर्न वा खुच्चिङ भन्न पनि यसको प्रयोग भैरहेको पाइन्छ अनि यस्तो अभ्यासमा पनि तन्नेरीहरूकै संग्लनता देखिन्छ । गत माघ २३ गते २१ र २२ वर्षीया दुई छात्रा महानगरीय प्रहरी वृत्त कमलपोखरी पुगे । काठमाडौंकै कुनै कलेजमा ब्याचलर्स दोस्रो वर्षमा अध्ययनरत ती युवती एउटै समस्याबाट पीडित थिए । कसैले उनीहरूको तस्बिर प्रयोग गरेर एउटा अश्लील वेबसाइटमा उनीहरूको नाममा प्रोफाइल खोलेका थिए ।
युवतीको उजुरी लगत्तै प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढायो र उनीहरूकै एक सहपाठी युवालाई माघ २३ गते पक्राउ गर्यो । इन्फर्मेसन म्यानेजमेन्ट अध्ययनरत ती युवाले प्रहरी बयानमा आफूले कुनै प्रतिशोध साँध्नभन्दा पनि ख्याल–ख्यालमै त्यस्तो काम गरेको बताए । प्रहरीले ती युवाविरुद्ध साइबर अपराधमा मुद्दा चलाएको छ भने कलेज जाने–आउने उनको दिन प्रहरी थुनामा बितिरहेको छ ।
बदला साध्न सामाजिक सञ्जालको प्रयोग कसरी भैरहेको छ भनेर जान्न डोटीको एउटा घटना पर्याप्त हुन्छ । १६ वर्षकी एक किशोरीले आफ्नै कलेज पढ्ने सिनियर केटी साथीसँग झगडा भएपछि सामाजिक सञ्जाल प्रयोग गरेर इबी साँधिन् । त्यही रिस साँधेबापत उनी प्रहरी नियन्त्रणमा त पुगिन नै यो घटनाले कसरी टिएनर्जसहरूमा सामाजिक सञ्जाल बदला साँध्ने हतियार बन्दैछ भन्ने तथ्यलाई पनि सतहमा ल्याइदियो ।
ती किशोरीले आफूसँग सामान्य झगडा परेको इबी साध्न नक्कली फेसबुक आइडीको सहारा लिएकी थिइन् । १२ कक्षा अध्ययनरत सिनियरको चरित्र हत्या गर्न उनले ती युवतीको प्रोफाइलमा अश्लील तस्बिरहरू पोस्ट गरिन् अनि लेखिनँ, ‘म सँग एक रात बिताउने कोही छ ? सेक्स गर्ने भए सम्पर्क गर्नुहोस् ।’ नक्कली फेसबुक प्रोफाइल खोलेर आफ्नो चरित्र हत्या भएको जानकारी पाएपछि पीडित युवतीले गत माघ २९ गते महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी गरिन् । त्यसपछि मात्र थाहा भयो, उक्त हर्कत आफ्नै कलेज पढने जुनियर युवतीले गरेकी हुन् ।
प्रहरीले उनलाई डोटीबाट नियन्त्रणमा लिएर काठमाडौं ल्यायो र मुद्दाको प्रक्रिया अघि बढाउने बेला थाहा भयो, उनी नाबालिका छिन् । प्रहरीले किशोरी पढने विद्यालयबाट भर्नासम्बन्धी कागजात मगाएर हेर्दा पुष्टि भयो, उनको उमेर १६ वर्षको आसपास छ । फौजदारी आचार संहिताले १८ वर्षभन्दा मुनिकाले गर्ने गैरकानुनी कामलाई बाल बिज्याइका रूपमा परिभाषित गरेको छ । त्यसैले प्रहरीले उनलाई चेतावनी दियो र यस्तो गल्ती आईन्दा नगर्न सचेत गराउँदै उनले चलाइरहेको नक्कली फेसबुक आईडी बन्द गरिदियो ।
प्रहरी परिसर काठमाडौंको साईबर युनिट हेरिरहेका इन्सपेक्टर बुद्धि सुवेदीको अनुभवमा पछिल्ला महिनामा परिसरमा दर्ता भएका साईबर अपराधका पीडित र पीडक दुवैमा टिएनजर्सको संख्या उल्लेख्य छ । सुवेदी भन्छन्, ‘धेरैजसोको समस्या प्रेम सम्बन्धमा देखा परेको उतारचढाव र त्यसपछि प्रतिशोध साँध्ने कामका कारण भएको देखिन्छ ।’ उनका अनुसार पछिल्ला वर्षहरूमा साईबर अपराधको संख्या त बढेको छ नै त्यसमा संग्लन किशोर–किशोरीको संख्या पनि वृद्धि हुँदै गएको छ ।
सुवेदीको भनाइलाई प्रहरी परिसर काठमाडौंमा दर्ता भएको साइबर अपराधसम्बन्धी तथ्यांकले समेत पुष्टि गर्छ । आर्थिक वर्ष ०७२/७३ मा साइबर अपराधका ३२ वटा मुद्दा दर्ता भएका थिए भने आर्थिक वर्ष ०७३/७४ मा उक्त संख्या २५ मा सीमित भएको थियो । आर्थिक वर्ष ०७४/७५ मा साईबर अपराधका मुद्दा बढोत्तरी भएर ८१ पुगे । चालू आर्थिक वर्ष ०७५/७६ मा यो संख्या बढेर ९५ पुगिसकेको छ । यो आर्थिक वर्षमा प्रहरीमा दर्ता भएका साइबर अपराधका मुद्दामा १८ वर्षमुनिका १० जना नाबालक जोडिएका छन् । इन्स्पेक्टर सुवेदी भन्छन्, ‘यो तथ्यले साइबर अपराधमा टिएनर्जसहरूको संख्या बढ्दै गएको देखाउँछ ।’
चैत महिनामा मात्र प्रहरी परिसर काठमाडौंमा दर्ता भएका साइबर अपराधका ६ वटा मुद्दाका ७ प्रतिवादीमध्ये २ महिला तथा ५ पुरुष छन् । यो तथ्यांकले साइबर अपराधमा पुरुषसँगै महिलाहरूको उपस्थिति पनि देखाउँछ । प्रहरीकै तथ्यांकले देखाउँछ, चैत महिनामा दर्ता भएका साइबर अपराध सम्बद्ध मुद्दामध्ये तीनवटा फेसबुक, दुईवटा युट्युब र एकवटा अनलाइन पोर्टल सम्बद्ध छन् । इन्स्पेक्टर सुवेदीले भने, ‘साइबर अपराधमा तन्नेरीहरूको बढ्दो संलग्नताका सम्बन्धमा बेलैमा सचेत हुन त जरुरी छ नै, यस विषयमा गम्भीर बहस पनि आवश्यक छ ।’