साप्ताहिक संवाददाता
नीरप्रताप महतो र शिला चौधरी श्रीमान श्रीमती हुन् । उनीहरूको परिचय यत्तिकैमा सीमित छैन । उनीहरू खेलाडी पनि हुन्, त्यो पनि अब्बल दर्जाका । त्यसैले त उनीहरू राष्ट्रिय खेलकुदमा आ–आफ्नो विधामा स्वर्ण जित्न सफल भए । नेपाली खेलकुद इतिहासमा यसरी जोडीले स्वर्ण जितेको यो दुर्लभ उपलब्धि हो ।
नीरप्रताप र शिला दुवै प्रशिक्षक चन्द्र गुरुङका उत्पादन हुन् । आफ्नो शिष्य जोडीले स्वर्ण जितेको देखेर उनी पनि कम खुसी थिएनन् । गुरुङले भनिहाले, ‘यिनीहरूले स्वर्ण जित्दा मेरो छाती गर्वले फुल्छ ।’ रमाइलो के पनि थियो भने जुन दिन प्रतिस्पर्धा थियो, त्यसको बिहानैदेखि शिलालाई बूढाबूढीले नै स्वर्ण जित्छौं भन्ने लागिरहेको थियो ।
चौधरीले भनिन्, ‘मनमा थियो दुवै स्वर्ण जित्छौं भन्ने । आखिर हाम्रो इच्छा पूरा भएको छ, एकदमै खुसी छु ।’ नेपालगन्ज कचनापुरकी शिला र नवलपरासी मध्यविन्दु नगरपालिकाका नीरप्रतापबीच प्रेम विवाह भएको हो । खेलकै क्रममा उनीहरूबीच चिनजानी भएको थियो । एउटै विभाग र एउटै खेलक्षेत्र भएकाले पनि एक–अर्का बुझ्न सजिलो भएको शिला बताउँछिन् ।