साप्ताहिक संवाददाता
कलाकार हरिवंश आचार्यले आफूसँग ‘टिकटक’ एकाउन्ट नभएको बताएका छन् । पोखराका पत्रकारमाझ प्रस्तुत भएका आचार्यलाई पत्रकारहरूले तपाईंको टिकटक एकाउन्ट छ कि छैन भनेर सोधेका थिए । ठट्यौली पारामा जवाफ दिँदै आचार्यले भने, ‘टिकचाहिँ छैन, टक मात्रै छ ।’
चलचित्र दाल, भात, तरकारीको प्रचारका लागि पोखरा पुगेका आचार्यसँग दाल, भात, तरकारीको चटनी को हो भनेर प्रश्न गर्दा उनको उत्तर थियो— आँचल शर्मा । नेपालमै बसेर सामान्य दाल, भात, तरकारी जुटाउन सकिन्छ भन्ने सन्देश आफ्नो नयाँ चलचित्रमार्फत दिन खोजेको आचार्य बताउँछन् ।
‘विदेश नगएकोलाई जाऊँ–जाऊँ हुन्छ, विदेश पुगेका अधिकांशको चाहना स्वदेशमै केही गरौं भन्ने हुन्छ,’ उनले भने । नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने चाहनाअनुसार चलचित्र निर्देशनको जिम्मा सूदन केसीलाई दिएको आचार्यको दाबी थियो । ठूला बजेटका विदेशी चलचित्रसँग साना बजेटका नेपाली चलचित्रले गरेको प्रतिस्पर्धा सन्तोषजनक भएको उनको धारणा थियो ।