साप्ताहिक संवाददाता
अभिनेत्री बर्षा सिवाकोटी र वर्षा राउतको भिडन्त रोचक हुने देखिएको छ । कुरा के हो भने, उनिहरु अभिनित चलचित्र एकै मितिमा सार्वजनिक हुँदैछ । सिवाकोटीको वीर विक्रम २ र राउतको जात्रैजात्रा आगामी जेठ ३ मा नेपालभर प्रदर्शन हुँदैछ ।
यि दुबै चलचित्र यसबर्षका प्रतिक्षित मानिएका चलचित्र हुन् । महंगो वजेटमा निर्माण गरिएका दुबै चलचित्रमा नाम चलेका कलाकारहरुले काम गरेका छन् । विर विक्रममा अहिलेका हटकेक अभिनेता पल शाह, नाजिर हुसेन छन् भने जात्रैजात्रामा दयाहाङ राई, बीपीन कार्की लगायतका कलाकार छन् ।
नेपालको चलचित्र उद्योगमा अभिनेत्रीको भाग्य उनिहरु अभिनित चलचित्रको कमाई र सफलतासँग जोडिने गरेको छ । उद्योगमा रहेका यि दुई अभिनेत्रीका हकमा यो कुरा तुलनात्मक विश्लेषण हुने गरेको छ ।
राउत चुजी छैनन्, सिवाकोटी चुजी छिन् । तुलनात्मक रुपमा राउत भन्दा सिवाकोटीको चर्चा धेरै हुने गरेको छ । किनभने, उनी अभिनित चलचित्र पशुपती प्रसाद र नाई नभन्नु ल २ सर्वाधिक हिट चलचित्र हुन् । त्यसो त राउतले पनि चलचित्र पाइरहेकी छिन्, तर उनकै कारण चलचित्र चलेको भन्ने हल्ला अहिलेसम्म सुन्न पाइएको छैन ।
ट्रेलरका हिसाबमा दुवै चलचित्रले दर्शक तान्न सक्ने अपेक्षा गरिए पनि एकै मितिमा जुध्ने भएका कारण कुन चलचित्रको पल्ला भारी हुन सक्ला भन्ने समिक्षकहरुले समेत अनुमान लगाउन सकेका छैनन् । दुई बर्षाको भिडन्तमा कसलाई बढि चोट लाग्नेहो त्यो भने हेर्न बाँकी छ ।