साप्ताहिक संवाददाता
आज शुक्रबार चलचित्र दाल, भात, तरकारीको प्रदर्शन प्रारम्भ भएको छ । मह सञ्चारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेको यो चलचित्रलाई सूदन केसीले निर्देशन गरेका हुन् । सूदनको यो डेब्यु चलचित्र हो । दाल, भात, तरकारी नेपाली कथा–व्यथामा आधारित रहेको चलचित्रका निर्माता तथा हास्यकलाकार किरण केसीले जानकारी दिएका छन् ।
‘चलचित्रमा हरेक घरको पीडा एवं रोजगारी र मजदुरीको कथा समेटिएको छ ।’ केसी भन्छन्, ‘यो चलचित्र २ घण्टा ५ मिनेट लामो छ, त्यस अवधिमा दर्शकले कतै पनि बोरिङ महसुस गर्नु पर्दैन, हाँस्दाहाँस्दै चलचित्र सकिन्छ भने यो चलचित्र जस्तासुकै दर्शकले पनि सहजै बुझ्न सक्छन् ।’
यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प
खड्का, आँचल शर्मा, वर्षा राउत, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर वाङ्देल, विल्सनविक्रम राई, रविन तामाङ आदि कलाकारले अभिनय गरेका छन् । चलचित्र दाल, भात, तरकारीमा मदनकृष्ण, हरिवंश, किरण केसी, नरेन्द्र कंसाकार आदिको लगानी छ । यो चलचित्रको छायांकन दीर्घ गुरुङले गरेका हुन् ।
काठमाडौं, चितवन तथा पोखरामा छायांकन गरिएको यो चलचित्रको कथा, पटकथा, संवाद एवं तीनवटै गीत हरिवंश आचार्यले लेखेका हुन् । चलचित्रमा समावेश भएका गीतमा संगीतकार शम्भुजित बाँस्कोटाको संगीत सुन्न सकिन्छ । चलचित्र दाल, भात, तरकारीमा करिब ३ करोड रुपैयाँ लगानी भएको निर्माण पक्षले जनाएको छ ।