साप्ताहिक संवाददाता
वैशाख २०, २०७६
नेपाल पर्यटन बोर्डले आयोजना गर्दै आएको ‘फोटो नेपाल’ श्रृंखलाअन्तर्गतको तस्बिर प्रदर्शनीको नयाँ श्रृंखला आज शुक्रबार प्रारम्भ हुँदैछ । यो श्रृंखलाको शीर्षक ‘तस्बिरमा सिन्धुली’ राखिएको छ । सिन्धुली जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले समृद्ध सिन्धुली अभियानले एक हप्ता लामो यो फोटो प्रदर्शनीको आयोजना गर्न लागेको हो ।
प्रदर्शनीमा सिन्धुलीको जनजीवन, प्राकृतिक सौन्दर्य, जीवनशैली, संस्कृति, धार्मिक तथा ऐतिहासिक सम्पदा आदि झल्कने ३५ वटा तस्बिर समावेश गरिने प्रदर्शनीका संयोजक दीपक श्रेष्ठले बताएका छन् । सिन्धुलीका दुई ऐतिहासिक स्थल सिन्धुलीगढी तथा हरिहरपुरगढीलाई तस्बिरमा देख्न सकिनेछ ।
यसका साथै सिन्धुलीको मौलिक उत्पादन जुनार एवं पर्यटकीय मार्गका रूपमा रहेको बीपी मार्गका सुन्दर तस्बिर पनि प्रदर्शनीमा राखिनेछन् ।