साप्ताहिक संवाददाता
गत शुक्रबार चलचित्र कालो वर्ष प्रदर्शनमा आयो । यो चलचित्र २०७२ सालको महाभूकम्पको सम्झनामा आधारित छ । चलचित्र कालो वर्ष प्रदर्शनमा आउनुभन्दा पहिले अन्य चलचित्रको जस्तो तामझामपूर्ण प्रचार–प्रसार गरिएको थिएन । त्यसकै परिणाम मान्नुपर्छ यो चलचित्र गुमनाम हुन पुग्यो । यो चलचित्रमा करिब ५० लाख रुपैयाँ लगानी भएको थियो । मंगलबारसम्मको कलेक्सन हेर्दा करिब २५ लाख रुपैयाँ आम्दानी भएको चलचित्रका निर्माता योगेन्द्र पनेरूले जानकारी दिए ।
मंगलबारसम्म पाँच दिनको व्यापारका आधारमा यो चलचित्रलाई लगानी उठाउन धौ–धौ पर्ने देखिन्छ । यद्यपि निर्माता पनेरू भने शुक्रबारसम्म चलचित्रले लगानी उठाउन सक्नेमा आशावादी छन् । यो चलचित्रले व्यापार गर्न नसक्नुको कारण प्रचार–प्रसारको कमी तथा हलिउड चलचित्र इभेन्जर इन्डगेम नै मानिएको छ ।
चलचित्र कालो वर्षमा सबै नयाँ कलाकारले अभिनय गरेका छन् । निर्देशक लक्षु गौतमको यो दोस्रो चलचित्र हो । उनको दोस्रो चलचित्रले पनि उत्कृष्ट व्यापार गर्न सकेन । चलचित्रको मुख्य भूमिकामा अशोक पहरी, करण साउद, ओकेश पनेरू अनुपा खड्का, पवन भट्टराई, सुरेन्द्र बुढा, रश्मी शाह, रविन भुजेल आदि छन् । कलाकारहरूको अभिनय पनि औसत नै छ । तीमध्ये अशोक पहरी, करण साउद तथा ओकेश पनेरूले नोटिस हुने काम गरेका छन् ।
निर्देशकले आफ्ना तर्फबाट जति गर्न सक्थिन् त्यति गरेकी छिन् । पहिलो चलचित्रको अनुभवबाट यो चलचित्रमा उनले आफ्ना कमीकमजोरी सच्याएको पाइन्छ । चलचित्रको मेकिङ राम्रो छ, यद्यपि छायाँकन र दृश्य संयोजनमा भने चुकेको पाइन्छ । यो चलचित्रको कथा ठीकै छ ।
चलचित्रमा २०७२ सालको महाभूकम्पपछिको नेपाली जनजीवन प्रस्तुत गरिएको छ । भूकम्पपछि जनजीवन प्रभावित भएर कैयौं युवा बिदेसिनु र पारिवारिक अवस्था नाजुक हुनुको कारण भूकम्प नै हो भन्ने कुरा चलचित्रमा देखाउन खोजिएको छ । यस्तै, चलचित्रमा अन्तरजातीय विवाहलाई मान्यता दिनुपर्छ भन्ने कुरा समेत समेटिएको छ । त्यस बाहेक चलचित्र भूकम्पकै वरिपरि घुमेको छ ।
तैपनि भूकम्पका कारण भएको भग्नावशेषको दृश्य कमै मात्रामा समावेश भएका छन् । यदि ती दृश्य पनि समावेश भएको भए संवाद र दृश्यबीच मेल हुन सक्थ्यो । चलचित्रमा समावेश गीत–संगीतलाई उत्कृष्ट मान्नुपर्छ भने छायाँकनको पाटो खासै चित्त बुझ्दो छैन । निर्देशकले कतिपय दृश्य र संवाद काँटछाट गर्न सक्थिन्, तर त्यसमा उनी चुकेको पाइन्छ ।