साप्ताहिक संवाददाता
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जिवनीमा निर्माण भएको बायोपिक चलचित्र आगामी मे २४ मा प्रदर्शन हुने भएको छ । यसअघि यो चलचित्र अप्रिल ११ मा प्रदर्शन हुने भनिएको थियो । यद्यपी निर्वाचन आयोगले आचार संहिता विपरित भएको भन्दै चलचित्र प्रदर्शनमा रोक लगाएको थियो ।
चलचित्र ‘पिएम नरेन्द्र मोदी’ लोकसभा चुनाव परिणाम घोषणाको एक दिनपछि सार्वजनिक हुने निर्माण पक्षले जनाएको छ । निर्माता सन्दीप सिंहले चलचित्र सार्वजनिक मिति पछि सरेपनि खासै फरक नपर्ने बताए । उनले भने, ‘निर्वाचन आयोगले निर्देशन दिएपछि उक्त कुरा स्विकारेका हौं, अब प्रदर्शन हुँदा यो चलचित्र राम्रै चल्नेछ ।’
उमंग कुमार निर्देशित यो चलचित्रमा बोमन ईरानी, मनोज जोशी, प्रशान्त नारायणन, जरीना वहाब, बरखा सेन गुप्ता तथा दर्शन कुमार लगायतका कलाकारले अभिनय गरेका छन् भने नरेन्द्र मोदीको भुमिका विवेक ओबेरायले निभाएका छन् ।
चलचित्रमा नरेन्द्र मोदीको चिया व्यापारदेखी प्रधानमन्त्री हुँदासम्मको कथा देखाइने बताइएको छ । सुरेश ओबेराय तथा आनन्द पण्डित चलचित्रका सह–निर्माता हुन् ।