आफूले पाएको दुःख सन्तानले नभोगून्, कुलतमा नलागून्, अनावश्यक खर्च नगरून् भनेर पनि आमा–बाबु सचेत रहन्छन् । बाहरूले बरु धेरै कुरा बेवास्ता गर्लान्, तर आमाको मन त्यस्तो हुँदैन । आमाले गर्ने साना–ठूला सबै गालीमा माया मिसिएको हुन्छ । संसारको सबैभन्दा मीठो गाली भनेकै आमाको गाली हो । आमा भएको घर बल्ल घरजस्तो हुन्छ । कहिलेकाहीं लाग्छ, आफैंलाई जन्मदिने आमालाई वृद्धाश्रममा छोडेर आउने हिम्मत छोराछोरीमा कुन हृदयले आउँछ होला, ‘आमा कसरी हेलाको पात्र हुन सक्छिन् ?
अरूसँग लिन मात्र खोज्नु स्वार्थ हो, लिनु पनि, दिनु पनि कारोबार हो, दिन मात्र सक्नु प्रेम हो । सायद यो धर्तीमा अधिकांश मानिसले गर्ने भनेको सम्बन्धको कारोबार हो । भनिन्छ, आमाले मात्र सच्चा प्रेम दिन सक्छिन् र सन्तानले जति सताए पनि, वास्ता नगरे पनि कहिल्यै उसको कुभलो चिताउँदिनन् । अपवाद नहोलान् भन्न सकिन्न, तर यो धर्तीमा गरिने अनेक खालका प्रेममध्ये सबैभन्दा सङ्लो प्रेम कसैको छ भने आमाकै हो । आमाको प्रेममा सम्भवतः कुनै पनि छोराछोरीले शंका गर्दैनन् ।
म दस वर्षको हुँदा पढ्न भनेर सहर आएँ । आमा गाउँमा हुनुभयो । सुरु–सुरुमा त रमाइलो लाग्यो, तर केही समयपछि आमाको न्यास्रो लाग्न थाल्यो । सहरमा हाम्रो स्याहार एवं रेखदेख गर्ने फुपू हुनुहुन्थ्यो जसलाई हामी डल्ली दिदी भन्थ्यौं । बेला–बेलामा छुट्टी हुँदा हामी डल्ली दिदीसँगै गाउँ जान्थ्यौं । अलि–अलि जम्मा पारेको पैसाले बिस्कुट मात्र किनेर आमालाई लगिदिँदा पनि खुसी लाग्थ्यो । घरमा गएका बेला आमाले गर्ने घरधन्दाको काममा सकेको सघाइदिन मन लाग्थ्यो, आमाले घाँस काटन जाँदा, पत्कर सोहोर्न जाँदा पछि–पछि लागेर सकेको गरिदिन मन लाग्थ्यो, तर मैले त्यो बेला पनि कहिल्यै मुख फोरेर आमालाई तपाईंको असाध्यै माया लाग्छ भनिनँ । शब्दले बोलेर माया देखाउन, माया जनाउन मलाई कहिल्यै आएन, अहिले पनि जान्दिनँ तर व्यवहारले देखाइरहन्छु । छुट्टी सकिएर सहर फर्कने बेलामा मन भारी हुन्थ्यो । उतै बस्न पाए पनि हुन्थ्यो भन्ने लाग्थ्यो ।
गहभरि आँसु आउँथ्यो र त्यो लुकाउन दुई–तीन चोटि मुख धुन्थें तर मुख फोरेर म जान्छु है आमा, राम्रोसँग बस्नु भन्न सक्दिनथें र हिंड्ने बेला झोला बोकिसकेपछि म पछाडि फर्केर हेर्दिनथें, सुइँसुइँ अघि लाग्थें, किनभने आँखामा टिलपिल आँसु आइसकेको हुन्थ्यो, मन भक्कानिसक्थ्यो र अरूले थाहा पाउलान्, देख्लान् भनेर आँसु पिउँदै एक्लै परसम्म पुगिसक्थें अनि भारी मन लिएर सहर फर्कन्थें । एक दिन आमाले डल्ली दिदीलाई मेरो छोरो कस्तो निष्ठुरी छ, जाने बेलाम जान्छु पनि नभनी हिंडछ भनेर चित्त दुखाउनुभएछ । सुनेर नरमाइलो लाग्यो तर मैले त्यसपछि पनि र आजसम्म पनि मुख फोरेर आमालाई न अरू कसैलाई माया गर्छु भन्न सकिनँ, तर व्यवहारले न आमाले माया गर्न छोडनुभयो, न मैले नै छोडें । सायद बिस्तारै आमाले पनि मेरो स्वभाव बुझ्दै जानुभयो । जो–सुकैलाई गरिने माया होस्, व्यवहारले थाहा भैहाल्छ नि ! भनिरहनुपर्छ र ? जस्तो लाग्छ मलाई ।
सन्तान जति नै ठूला भए पनि, जत्रो पदमा पुगे पनि आमालाई सधैं सानै केटाकेटी लाग्दो रै’छ । बेलामा खाइस् कि खाइनस्, बेलैमा घर पुगिस् कि पुगिनस्, चिसो लाग्ला, यसो गर्नु, उसो नगर्नु भनेर चासो र सल्लाह हरेक आमाले छोराछोरीलाई बाँचुन्जेल दिइरहन्छन् । आफूले पाएको दुःख सन्तानले नभोगून्, कुलतमा नलागून्, अनावश्यक खर्च नगरून् भनेर पनि आमा–बाबु सचेत रहन्छन् । बाहरूले बरु धेरै कुरा बेवास्ता गर्लान्, तर आमाको मन त्यस्तो हुँदैन । आमाले गर्ने साना–ठूला सबै गालीमा माया मिसिएको हुन्छ । संसारको सबैभन्दा मीठो गाली भनेकै आमाको गाली हो । आमा भएको घर बल्ल घरजस्तो हुन्छ । कहिलेकाहीं लाग्छ, आफैंलाई जन्मदिने आमालाई वृद्धाश्रममा छोडेर आउने हिम्मत छोराछोरीमा कुन हृदयले आउँछ होला, ‘आमा कसरी हेलाको पात्र हुन सक्छिन् ? आमालाई रुवाएर आफूचाहिँ कसरी हाँस्न, खुसी हुन सक्ने होला ? सन्तानकै लागि आफ्नो जीवन खिइयाउन सक्ने आमाको मन बुढेसकालमा सन्तानले दिने पीडाबाट कति जर्जर हुँदो हो ?
सन्तानले प्रगति गरून्, मान पाऊन् भन्ने हरेक आमाबुबाको चाहना हुन्छ । कतिपय आमाहरूको जीवन छोराछोरीको स्याहारसुसार र घरधन्दामै बित्छ । व्यवहार टारौं भन्दाभन्दै आमाहरूले आफ्ना स–साना रहर मारिरहेका हुन्छन् । घर छोडेर टाढा घुम्न–डुल्न जान भ्याएका हुँदैनन्, तर आफूले सक्ने भएपछि सम्भव भएका र पूरा गरिदिन सक्ने आमाका रहरहरू पूरा गरिदिने हो भने आमाहरूलाई कति सन्तोष मिल्दो हो ? आमाहरूले सधैं मलाई सबथोक पुगेकै छ, खुसी नै छु भन्छन् तर एकफेर सोधेर हेरौं त उहाँहरूका पनि खान मन लागेका कुरा होलान्, लाउन मन लागेका कुरा होलान्, डुल्न मन लागेका ठाउँ होलान्, गर्न मन लागेका कुरा होलान् ।
ठूलो भैसकेपछि कतिपय छोराछोरीले बा–आमा भाग लगाएर पाल्छन्, आमा मसँग बस्नुहुन्छ भन्छन्, त्यसो भन्नुको साटो म वा हामी आमासँग बस्छौं भन्यौं भने कति राम्रो सुनिन्छ ? के फुर्सद मिलाएर तपाईंले आफ्नी आमाको जीवन–कहानी सुन्नुभएको छ ? जति ठूलो भए पनि मौका परेका बेला आमाको काखमा सुत्नुस् त कति आनन्द आउँछ ? घरमा आमा हुनुहुन्छ भने बेला–बेलामा आमा तपार्इंको इच्छा के छ भनेर सोध्न नबिर्सनुस् है त !