आमा !

- डा. अनिल बराल

वैशाख २१, २०७६

मेरो पहिलो रुवाइ

सायद तिम्रो पहिलो सच्चा हाँसो

त्यतिन्जेलसम्म त हाँसो कतै धरौटी राखेकी थियौ

तिम्रो रगत र पानीको डल्लोबाट म श्वास फेर्न तंगि्रँदै गर्दा

आफ्नो श्वास नै बिर्सिएकी थियौ होला नि

मृत्युको मुखबाट उछिट्टिनुपर्दा

भोक–प्यास मेटाउन तिम्रा लाम्टा चुस्दै गर्दा

कहिल्यै मलाई जुको ठानिनौ

लतपतिएका मेरा पुठा सफा गर्न

कहिल्यै घिन मानिनौ

बरु बिर्सियौ हौली तिमी आफै कति भोकी, कति प्यासी थियौ भनेर

अनि कस्ति झुत्री मैली थ्यौ भनेर

म कत्ति हाँस्थे, अबोध न थिएँ

तिमी कत्ति रुन्थ्यौ, मेरो हाँसोको धेरै पीर थियो 

कतै कलिलैमा ओइली झर्छन् कि भनेर

कतै न उम्रँदै माटो भित्रै विलीन हुन्छन् कि भनेर

म लड्थे तिमी उठाउँथ्यौ, तिमी लडिनौ कहिल्यै, कि मैले देखिनँ ?

तिम्रो काख नै काफी, आगो कहिल्यै चाहिएन

कठ्यांग्रिदा सेकिन

सम्झन्छु पेटमा दौडिएका मुसा..

मुसा त छानामा पनि दौडन्थे..तिमी धपाउँथ्यौ दुवै थरी मुसा..

तिमीभित्र त सायद बिरालो नै पालेकी थियौ कि

मैले भेउ नै पाइनँ

तर तिमी त आफै बघिनी थियौ

बिरालो किन चाहिन्थ्यो ?

समय अघि बढ्यो, किन रोकिन्थ्यो र कसैका लागि ?

हामी पनि कहाँ रोकियौ र हिड्यौं नि समयलाई चुनौती दिँदै, समाजका वागी

तिमी सिँगौरी खेल्दै नियतिसँग

म सिँगौरी खेल्दै तिम्रो नांगो काखसँग

हुर्कंदै त थिएँ नि हेर्दै तिम्रो चाउरिएको मुहार,

तिम्रो फुस्रा केशराशि, सोची कसरी ल्याउने बहार

जसरी ल्यायौ उसरी छोडी गयौ चटक्क

आफ्नो त हिसाब फर्स्यौट गर्‍यौ

तर मेरो हिसाब, कसलाई बुझाऊँ म ?

नसम्झेको त तिमीलाई हैन.. बिर्सिएको नै कहिले छ र ?

किन आजै आउनुपर्‍या तिमीलाई

परेलीमा साउन भएर ?

 

प्रकाशित :वैशाख २१, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×