साप्ताहिक संवाददाता
निर्देशक : एन्थोनी रुसो, जो रुसो
कलाकार : रोबर्ट डाउनी जू, क्रिस हेम्सवर्थ, मार्क रफेलो, क्रिस इवान्स तथा जोश ब्रलिन ।
जसरी कटप्पाले बाहुबलीलाई किन मारे भन्ने प्रश्नको जवाफ थाहा पाउन बाहुबली–२ को प्रतीक्षा गर्नु परेको थियो, ठीक त्यसैगरी पछिल्लो एक वर्षदेखि चलचित्र एभेन्जर्स इन्डगेमको प्रतीक्षा गर्नेहरू धेरै थिए । यो चलचित्रको कथा कसरी पूरा हुन्छ भन्ने कौतुहलता कै कारण दर्शकहरूले यसको व्यग्र प्रतीक्षा गरेका थिए ।
दर्शकहरूको अपेक्षामा निर्देशकद्वय एन्थोनी रुसो तथा जो रुसो खरो उत्रिएका छन् । एभेन्जर्सका अघिल्ला श्रृंखलाको तुलनामा इन्डगेम एक कदम अघि नै रह्यो । निर्देशकद्वय एभेन्जर्सको कथालाई निकै सशक्त ढंगले टुंग्याउन सफल भएका छन् ।
चलचित्रको कथा त्यहींबाट प्रारम्भ हुन्छ, जहाँ एभेन्जर्सः इन्फिनिटी बारको कथा टुंगिएको थियो । पछिल्लो चलचित्रको कुनै पनि पृष्ठभूमि नराखी इन्डगेमको कथा प्रारम्भ गरिएको छ । यो चलचिक्रमा आबद्ध व्यत्तिहरूको आत्मविश्वासले के कुरा दर्शाउँछ भने उनीहरूले ती दर्शकका लागि यो चलचित्र निर्माण गरेका हुन्, जसले एभेन्जर्सका अघिल्ला श्रृंखला हेरिसकेका छन् ।
चलचित्रको थालनी केही कमजोर छ । सबै एभेन्जरहरू छरफस्ट छन् । कसैले निर्दोषलाई मारिरहेका छन् भने कोही अन्तरिक्षमा झुण्डिरहेका छन् । एक जना सुपरहिरो बृद्ध झैं देखिएका छन् । सबैको आ–आफ्नै कथा छ । जब ती सबै एभेन्जर एकै ठाउँमा भेला हुन्छन्, चलचित्रले गति समात्छ र त्यो गति यति तीव्र हुन्छ कि दर्शकले आँखा झिम्क्याउन समेत भ्याउँदैनन् ।
यसपटकको श्रृंखलामा कथामा विशेष ध्यान दिइएको छ । चलचित्रको कथा उत्कृष्ट छ । यसमा ड्रामा, कमेडी तथा एक्सनका दृश्यका साथ–साथै भावनालाई पनि उत्तिकै स्थान प्रदान गरिएको छ । चलचित्रमा प्रयोग गरिएको स्पेशल इफेक्ट्सको प्रशंसा जति गरे पनि कमै हुन्छ । थ्री–डी भर्सनमा यो अझ उत्कृष्ट लाग्छ । यो चलचित्रको क्लाइमेक्सले रोमाञ्चकताको उचाइ छोएको छ । चलचित्रको सम्पादन तथा छायांकन समेत उत्कृष्ट छ । समग्रमा यो चलचित्र प्राविधिक रुपले समेत प्रशंसनीय छ ।
रोबर्ट डाउनी जुनियर सुपरहिरोहरूको भीडमा आफ्नो अभिनयका कारण छाएका छन् ।
आफ्नो अभिनयबाट उनले दर्शकलाई भावुक समेत बनाउँछन् । क्रिस इभान्सले आफ्नो भूमिका आकर्षक शैलीमा ढंगले निर्वाह गरेका छन् । क्रिस हेम्सवर्थ तथा मार्क रफेलाले दर्शकलाई हँसाएका छन् । जेरेमी रेनर र जोश ब्रुलिनसहित चलचित्रका प्रायः सबै कलाकारले उत्कृष्ट अभिनय गरेका छन् ।
मार्बल कमिक्समा आधारित यो सुपरहिरो चलचित्रले ग्लोबल बक्सअफिसमा तीन अर्ब डलरभन्दा बढी आम्दानी गरिसकेको छ । नेपालमा समेत यो चलचित्रले उत्कृष्ट व्यवसाय गरेको क्यूएफएक्सले जनाएको छ ।