लामो समयको अन्तरालपछि वाल्यकाल बिताएको गाउँको भ्रमण गर्ने मौका प्राप्त भयो । ग्रामीण भेगको भ्रमण जति उत्साहजनक थियो त्यति नै दुःखपूर्ण पनि थियो । यात्रा धेरै लामो पनि होइन, धनकुटा जिल्लाकै उत्तरी ग्रामीण क्षेत्रको हो । गाउँ जानुको उद्देश्यका पछाडि कुनै विशेष कार्यक्रम पनि थिएन, तैपनि सानो छँदा हुर्किएको, हाँसे–खेलेको ठाउँ ।
लामो समयपछि त्यो गाउँ पुग्न पाउँदा मनमा एक किसिमको खुसी छाएको थियो । मैले अनुमान गरेको थिएँ— अब त त्यो गाउँमा पनि धेरै विकास भयो होला, धेरै परिवर्तन आए होलान् । सानो छँदा मावल जाने रहरले कहीं कुद्दै त कहीं चौतरीमा थकाइ मार्दै आमासँग हिँड्दा निकै रमाइलो हुन्थ्यो, तर अहिले त हिँड्ने बानी पनि हराएछ । जम्मा ४ घण्टाको बाटो बल्ल–बल्ल १२ घण्टामा पुगियो ।
राति थकाइ लागेकाले भुसुक्कै निदाइयो । बिहान झुल्के घाममा आफूले अक्षर चिनेको स्कुलतिर लागेको त जस्ताको तस्तै पो रहेछ हाम्रो स्कुल । अझ पहिले त नयाँ–नयाँ भवन थिए, अहिले त ती भवन पनि थोत्रा भैसकेछन् । स्कुलको बगैंचाका सुन्तलाका रूख पनि बूढा भएछन् । कहिले हो, माओवादी र सेनाको भिडन्त हुँदा स्कुलको पर्खाल भत्किएको रे ! पर्खालमा अझै दुलैदुला रहेछन् ।
तल्लो गाउँका केटाकेटी अझै बासँग बालीघरेको घरमा लुगा सिउन र बाली उठाउन हिँड्दा रहेछन्, गाउँका केटाकेटी अझै आरन बोकेर आमासँग खुकुरीमा साँध लगाउन हिँड्दा रहेछन् । विश्व एकाइसऔँ शताब्दीमा हिँडिरहेको छ तर यो अरू कतैको नभएर हाम्रै गाउँको कथा हो । हाम्रो देशका सयौं ग्रामीण क्षेत्रका समाजमा व्यप्त गरिबी, अशिक्षा तथा असमानताको परिणाम हो यो दुर्दशा । यस्ता लाखौं जनताले आज पनि १८ औं शताब्दीमै जिउनुपरिरहेको छ ।
हामी आज देश परिवर्तन गर्ने भनेर कुर्लिरहेका छौ । देश अग्रगमन र समृद्धिको बाटोमा छ भनिरहेका छौं, तर आफ्नो पढ्न पाउने अधिकारलाई कलको सियोको टुप्पो र खुकुरीको धारमा राखेर हिँडेका ती अवोध बालकहरूले कहिले पढ्न पाउने ? के ती देशका कर्णधार होइनन् ? हो, निश्चय नै, जबसम्म ग्रामीण भेगमा रहेका यस्ता असमानताहरू हट्दैनन् र राज्यले यी आधारभूत कुराको सुनिश्चितता गर्न सक्दैन तबसम्म देशमा अग्रगमन र नयाँ नेपालको परिकल्पना गर्नु दिवा स्वप्नभन्दा पर अरू केही हुन सक्दैन ।