साप्ताहिक संवाददाता
नुवाकोट जिल्लाको म्यागङ गाउँपालिकाले संगम डाँडा तथा लोकिलमा प्याराग्लाइडिङ सुरु भएको छ । म्यागङ गाउँपालिका र वडा नम्बर–४ ले किम्ताङस्थित संगम डाँडा तथा म्यागङ गाउँपालिका वडा नम्बर–३ को लोकिलमा गरेको प्याराग्लाइडिङ परीक्षण सफल भएको थियो ।
गत महिना दुई दिन लगाएर ओपन स्काई प्याराग्लाइडिङ लेकसाइड पोखराको प्राविधिक सहयोगमा उक्त परीक्षण गरिएको थियो । गाउँपालिकामा स्वदेशी तथा विदेशी पर्यटकले प्याराग्लाइडिङबाट भरपुर मनोरञ्जन लिन सक्ने म्यागङ गाउँपालिकाको ४ नम्बरका वडाध्यक्ष कमल तामाङले बताए । उनले भने— किम्ताङको संगम र त्योभन्दा माथिल्लो डाँडा कुङगरगङमा समेत प्याराग्लाइडिङ गर्न सकिने प्राविधिकहरूले बताएका छन् ।
‘किम्ताङको संगम र त्योभन्दा माथिल्लो डाँडा प्याराग्लाइडिङका लागि उपयुक्त छ,’ ओपन स्काईका प्राविधिक नूर रानामगरले भने, ‘यहाँका रूख र बुट्यान हटाउनुपर्छ । उता लोकिल अलिकति जोखिम पूर्ण छ ।’ उक्त डाँडा २२ सय मिटरको उचाइमा छ । प्याराग्लाइडिङका लागि तल्लो भागबाट डाँडातर्फ हावाको बहाव चाहिने रानामगरले बताए ।
लोकिलमा छोटो एक फ्लाइट गरिएको थियो भने संगमबाट तल खेलमैदानसम्म दुई फ्लाइट परीक्षण गरिएको थियो । म्यागङ गाउँपालिकामा पर्यटक रम्न सक्ने धेरै स्थान भएको र त्यहाँ तामाङ संस्कृतिसमेत हेर्न पाइने गाउँपालिकाका प्रमुख आशा तामाङले बताए । त्यसका लागि म्यागङ गाउँपालिकाले त्रिशूली हुँदै एक रात बास बस्ने गरी पर्यटक आकर्षित गर्ने योजना बनाइरहेको छ ।
प्रदेश–३ र म्यागङ गाउँपालिकाको साझेदारीमा पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रम ल्याइएको प्रदेश सांसद हीरानाथ खतिवडाले बताए । टुण्डी मैदान, म्यागङ, किम्ताङ, चामछप्पा मैदान, बुङताङको माईथान आदि स्थानलाई पर्यटकीय स्थल बनाउन गाउँपालिका लागिरहेको छ ।