करिब दुई दशकअघि निर्माण भएको चलचित्र अंगरक्षकमा ‘क्ल्याप ब्वाइ’ अर्थात सहायक निर्देशकका रूपमा चलचित्र क्षेत्रमा प्रवेश गरेका सूदन केसीले चलचित्र निर्देशकका रूपमा डेब्यु गरेका छन्् । यो अवधिमा उनले जीवन रेखा, परें नि माया जालैमा, तिम्रो माया ९९ मेरो माया १००, रिमेम्बर मि (विदेशी), लभ यु, शत्रुगते आदि चलचित्रमा सहायक निर्देशकका रूपमा काम गरे । एक दर्जनभन्दा बढी म्युजिक भिडियो निर्देशन गरेका केसीले थुप्रै इभेन्टसमेत आयोजित गरिसकेका छन् । लोकप्रिय हास्य कलाकार किरण केसीका छोराका रूपमा भन्दा पनि निर्देशकका रूपमा चिनिन थालेका सूदनले मह सञ्चारको पछिल्लो चलचित्र ‘दाल भात तरकारी’ मार्फत निर्देशकका रूपमा पदार्पण गरेका हुन् । निर्देशक केसीले आफ्नो निर्देशनमा अभिनय गर्ने केही कलाकारको मूल्यांकन यसरी गरेका छन् :
मह जोडी
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको कामको मूल्यांकन गर्नु आफैंमा चुनौतीपूर्ण छ । म लामो समयदेखि उहाँहरूको निकटमा रहेर काम गरिरहेको छु । चलचित्र दाल भात तरकारीको छायांकनका क्रममा मैले उहाँहरूबाट यसअघि नसिकेका कुरासमेत सिक्ने मौका पाएँ । सहायक निर्देशकका रूपमा काम गर्दा खासै अफ्ट्यारो लागेको थिएन, निर्देशककै रूपमा उहाँहरूलाई निर्देशन गर्दा सुरु–सुरुमा नर्भस समेत भएँ ।
निरुता सिंह
सहायक निर्देशकका रूपमा मैले जति पनि चलचित्रमा काम गरेँ, त्यतिबेला निरुता सिंह बाहेक बाँकी सबै अभिनेत्रीसँग काम गरिसकेको थिएँ । म उहाँलाई प्रायः बुहारीको भूमिकामा प्रस्तुत गरिएको देख्थें । यो चलचित्रमा भने मैले उहाँलाई बिल्कुलै फरक चरित्रमा प्रस्तुत गरेको छु । उहाँलाई निर्देशन गर्न पाउँदा मैले आफूलाई भाग्यमानी मानेको छु ।
पुष्प खड्का
नयाँ पुस्ताका अभिनेतामध्ये पुष्प खड्कामा भिन्न प्रकारको ट्यालेन्ट छ । उनी अभिनयमा मात्र होइन नृत्य र द्वन्द्वमा पनि उत्तिकै पारंगत छन् । दृश्यका बारेमा एक पटक बुझाएपछि उनी त्यो कुरालाई सहजै निर्वाह गर्न सक्ने क्षमता राख्छन् ।
वर्षा राउत
वर्षा राउतका बारेमा मैले जे–जति राम्रा कुरा सुनेको थिएँ, यो चलचित्रमा अभिनय गर्ने क्रममा त्यो भन्दा बढी पाएँ । आफूलाई दिइएको चरित्र सहजै निर्वाह गर्न सक्ने उनको क्षमताको प्रशंसा गर्नैपर्छ ।
आँचल शर्मा
मैले आँचलसँग यसअघि चलचित्र शत्रुगतेमा काम गरिसकेको थिएँ । त्यसैले दोस्रो चलचित्रमा उनीसँग काम गर्दा थप सहज अनुभव गरें ।
किरण केसी
बुवा हुनु भएकाले उहाँलाई निर्देशन गर्न चाहिँ मलाई निकै असहज भयो । आफ्नै बुवालाई कसरी अभिनय सिकाउने जस्तो पनि भयो । त्यसैले जब–जब बुवाको सट आउँथ्यो, म मुख्य सहायक निर्देशकहरूलाई सबै कुरा सम्झाउन भन्थें । मचाहिँ अन्तिममा काम ठीक भयो कि भएन भनेर मात्र हेर्थें ।
राजाराम पौडेल
उहाँसँग पनि लामो समयदेखि काम गरिरहेकाले होला, निर्देशन गर्न खासै असहज महसुस गरिन् ।
विल्सन विक्रम राई
यो चलचित्रमा उनले तक्मेबुढाकै गेटअपमा अभिनय गरेका छन् । अरू बेला सबैलाई हँसाई रहे पनि कामका बेला गम्भीर हुने राईको स्वभावबाट म प्रभावित छु ।
रविन तामाङ
उहाँलाई म अभिनेताभन्दा पनि गायकका रूपमा चिन्थेँ । मैले उहाँका केही म्युजिक भिडियो पनि निर्देशन गरिसकेको छु भने उहाँका केही कन्सर्टसमेत आयोजित गरिसकेको छु । त्यसैले यो चलचित्रमा उहाँलाई निर्देशन गर्दा मैले सहजतामात्र महसुस गरिनँ, खुसी हुने मौकासमेत पाएँ ।