साप्ताहिक संवाददाता
सन्तोष सेनको निर्माणमा निर्माण हुन लागेको पाँचौ चलचित्र ‘प्रेम गीत ३’ को प्रदर्शन मिति तय भैसकेको छ । यो बर्षको अन्तिम समय अर्थात चैत २८ मा उक्त चलचित्र प्रदर्शन गर्ने घोषणा गरेका निर्माता सेनले उक्त चलचित्रका कलाकारहरु भने अहिलेसम्म सार्वजनिक गरेका छैनन् ।
स्रोतका अनुसार चलचित्रका लागी अभिनेता प्रदीप खड्का केहि महिनाअघि फाइनल भैसकेका छन्, अपोजिटमा अभिनेत्री भने नयाँ हुनेछिन् । यद्यपी निर्माता सेनले भने चलचित्रका कलाकार फाइनल नभएको बताउँछन् । उनले भनें, ‘मैले केहि समय अघि चलचित्र प्रदर्शन मिति बुक गरेको हुँ, हामी अहिले स्क्रिप्टकै काममा ब्यस्त भएकाले कलाकारहरु को–को हुन्छन् भन्न सक्ने अवस्था छैन ।’ चलचित्रलाई निर्माता सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्दैछन् ।
निर्माता सेनले रिलिज डेट बुक गरेपनि केहि हप्ताभित्रै चलचित्र र कलाकारहरु घोषणा गर्ने मुडमा रहेको उनि निकट व्यक्तीहरु बताउँछन् । तर सेनले भने, ‘चलचित्र हो, स्क्रिप्ट अनुसार कलाकार परिवर्तन हुन सक्छन्, हामीले स्क्रिप्ट अनुसार कुन कलाकार कस्तो भुमिकामा फिट हुन सक्छ भनेर खोजिरहेका छौं ।’
फ्लोरमा जान तयार भैसकेको बेलामा समेत निर्माता सेनले किन कलाकारहरु घोषणा गर्न मानेका छैनन ? चलचित्रमा अभिनेता प्रदीप नभएर अरु कोहि त आउनेवाला छैन ? त्यो भने हेर्न बाँकी छ ।