पोखरामा आयोजित एसियन कप ट्रायथलन प्रतियोगिताको उपाधि जापानका माकोतो ओदाकोराले जितेका छन् । शनिबार पोखराको लेकसाइडमा भएको ७ सय ५० मिटर स्वीमिङ ट्रायथलनको स्प्रिन्ट विधामा २० किलोमिटर साइक्लिङ तथा ५ किलोमिटरको दौड ५४ मिनेट १६ सेकेन्डमा पार गरी जापानका माकोतोले ट्रायथलनको स्वर्ण पदक जितेका हुन् । उनी विश्व वरियतामा ६३ औँ तथा एसिएन टेरिटोरीमा दोस्रो स्थानमा रहेका खेलाडी हुन् । पदक जितेपश्चात् उनले पौडीका लागि फेवाताल अनुकूल भए पनि साइक्लिङ र दौड भने खुल्ला सडकमा हुँदा जोखिम भएको बताए ।
प्रतियोगितामा निर्धारित दूरी ५४ मिनेट ३३ सेकेन्डमा पार गरेका पोल्यान्डका डान मेसिन्तोश दोस्रो भए भने ५५ मिनेट २ सेकेन्डमा उक्त दूरी पार गरेका दक्षिण कोरीयाका जि ह्वान किम तेस्रो भए ।
महिलातर्फको एसियन कप ट्रायथलनमा १ घण्टा २ मिनेट ५६ सेकेन्डमा दूरी पुरा गर्दै कोरियाकी य जिन पार्कले स्वर्ण जितिन् । १ घण्टा ३ मिनेट ५१ सेकेन्डमा दूरी पार गरी जापानकी कोनामी युसियुदा दोस्रो तथा १ घण्टा ४ मिनट ५५ सेकेन्डमा उक्त दूरी पार गरी जापानकै नाओमी ताकामिने तेस्रो भइन् ।
उक्त अवसरमा दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिपसमेत सञ्चालन गरियो, जसको स्वर्ण नेपालका वसन्त थारुले जिते । थारूले उक्त दूरी १ घण्टा ३ मिनेट ५ सेकेन्डमा पार गरेका थिए । आर्मीका थारुले यस अघि दक्षिण एशियाली ट्रायथलनमा ६ पटक सहभागी हुँदै २ पटक स्वर्ण तथा तीन पटक कांस्य पदक जितिसकेका छन् । १ घण्टा ७ मिनेट ३ सेकेन्डमा उक्त दूरी पार गरी भारतका लोकेस कुमार बाबुजी दोस्रो भए भने १ घण्टा ८ मिनेट समय लिँदै नेपालका नितेष मानन्धर तेस्रो भए ।
सोही विधामा महिला तर्फ भारतकी प्रग्न्या मोहनले स्वर्ण पदक हात पारिन् । उनले उक्त दूरी १ घण्टा ९ मिनेट २३ सेकेन्डमा पार गरेकी थिइन् । १ घण्टा १२ मिनेट ४० सेकेन्डमा उक्त दूरी पार गरी भारतकी मोनीका नागपुरे दोस्रो भइन् । १ घण्टा १८ मिनेटमा उक्त दूरी पार गरी नेपालकी सोनी गुरुङ तेस्रो भइन् । गुरुङ एपिएफकी खेलाडी हुन् ।
प्रतियोगितामा नेपाल, जापान, कोरिया, काजाकिस्तान, लिथुनिया, पोल्यान्ड, अस्ट्रेलिया, भारत तथा बंगलादेशका पुरुषतर्फ १९ तथा महिलातर्फ ८ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालका खेलाडीहरूको मात्र प्रतिस्पर्धा रहेको दुवाथलनमा सेनाका हिमाल टमाटाले स्वर्ण हात पारे । दोस्रो स्थानमा एपिएफका लक्ष्मण मल्ल तथा तेस्रो स्थानमा एपिएफका किरणकुमार मल्ल रहे । महिलातर्फ एपिएफकी हुमा बूढा मगर पहिलो भइन् । एपिएफकै निर्जता ताम्राकार दोस्रो तथा दाङकी अनिषा चौधरी तेस्रो स्थानमा आए ।
नेपालकै नम्बर वान ट्रायथलन खेलाडी दिपेश चौधरी प्रतियोगिताकै क्रममा कार दुर्घटनामा परे । ट्रायथलन प्रतियोगिताअन्तर्गत स्वीमिङ सकेर साइक्लिङ गरिरहेका चौधरी पोखराको हिमाली टोलमा कारको ठक्करबाट दुर्घटनामा परेका हुन् । ऊक्त दुर्घटनामा चौधरीको साईकल दुई टुत्रा भएको थियो । त्रिभुवन आर्मीका खेलाडी चौधरीले हालै सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका थिए ।