भुइँचालो । २०७२ वैशाख १२ को भुइँचालो मानिसको स्मृतिमा तत्काल बसिहाल्ने ठूलो प्राकृतिक दुर्घटना थियो । त्यसभन्दा अघि अत्यधिक चर्चामा रहेको १९९० सालको भुइँचालो सम्झिने पुस्ता पातलिइसकेका थिए । पहिलो जन–आन्दोलनअघि २०४५ सालमा पनि नेपालमा भुइँचालो गएको थियो । पूर्वाञ्चलको महत्वपूर्ण र लोकप्रिय सहर धरान त्यो भुइँचालोको प्रकोपमा परेको थियो । काठमाडौं उपत्यकाको सबैभन्दा पुरानो मानिने भादगाउँ सहर त्यो भुइँचालोले ध्वस्त भएको थियो । भादगाउँमा भुइँचालोपछि जनतालाई वितरण गरिएको रासन विवादले हिंसात्मक रूप लिएको थियो । राष्ट्रिय पञ्चायतका सदस्य कर्ण ह्योजुको विभत्स हत्या गरेको थियो उत्तेजित भीडले।
२०७२ वैशाखको भुइँचालोले काठमाडौं र त्यस वरपर रहेका जिल्लालाई ध्वस्त पा¥यो । पश्चिम २ नम्बरको लमजुङ–गोर्खादेखि, पूर्व २ नम्बरको दोलखा–रामेछापसम्म भुइँचालोको प्रकोप कडा रह्यो । दोलखाको दुर्गम सिंगटीजस्ता बस्ती भुइँचालोबाट भएको विनाशको आइकन भए । त्यस्तै आइकन भए गोर्खाको लाप्राक र बारपाक । २०७२ को भुइँचालोले नेपालको तन्नेरी समुदायमा निकै ठूलो चेतनाको आविष्कार भयो । चेतना विस्तारकै क्रममा सामाजिक सन्जालमा ‘वी विल राइज’ लोगो खुबै हिट भयो र त्यो पनि, स्वतःस्फूर्त रूपमा । अर्को वर्ष मैनबत्तीको प्रकाशमा काष्ठमण्डप र धरहराको छवि बनाएपछि त्यसले ठूलो प्रचार पायो । संसारभरका मिडियाले बाक्लो कभरेज दिए त्यसलाई । ती दृश्य सोसल मिडियामा भाइरल भए ।
‘भूकम्पका कारण प्रभावित भएका नेपालीहरूका लागि सहयोगी हात फैलाउने, निराशा लपेटिएका अनुहारहरूमा आत्मविश्वास र प्रेरणा भर्ने’ उद्देश्यसहित सुरु भएको ‘वी विल राइज’ अभियान यतिबेला पर्यटन, समाज तथा खेलका क्षेत्रमा फैलिएको छ । ‘हामी उठ्नेछौं’ नारा प्रेरणादायी मात्र नभएर यसले मानिसमा आत्मविश्वास बढाउँछ । यो अभियानले सन् २०२० सम्म नेपालमा पर्यटन प्रवद्र्धनका लागि ‘हाइक फर नेपाल’ कार्यक्रम संसारभर पु¥याउने लक्ष्य राखेको छ भने सन् २०२० मा मनाउन लागिएको नेपाल भ्रमण वर्षलाई लक्षित गरेर ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो प्रतियोगिता आयोजना गरिरहेको छ ।
यो स्तम्भकारसँगको भेटमा ‘टुँडिखेलमा सगरमाथा’ कन्सेप्टको काम गर्ने योजनामा रहेका यसका डिजाइनर तथा वी विल राइजका अभियन्ता निर्मल श्रेष्ठले बताए, ‘त्यो कन्सेप्ट अनुसार ८ हजार ८ सय ४८ मिटर सगरमाथाको उचाइ सरहकै संख्यामा हातमा सेतो बेलुनसहितका सहभागी भेला हुने कार्यक्रम छ । सगरमाथाकै फ्रेममा मिल्ने गरी मानिसहरू उभ्याउने र त्यसको एरियल सट लिने पनि कार्यक्रम छ हाम्रो । ८ हजार ८ सय ४८ बेलुनको निश्चित मूल्य राखिनेछ । त्यसको मूल्य बेलुन बोक्ने स्वयंले वा प्रायोजकहरूले तिर्नेछन् । पैसा तिर्न नसक्नेहरूलार्ई संसारभरबाट स्पोन्सर गर्न सकिनेछ ।
टुँडिखेलमा सगरमाथा कार्यक्रमका लागि झन्डै ४ करोड लाग्ने अनुमान गरिएको छ । यसले ग्लोबल वार्मिङका विरुद्ध जनचेतना अभिवृद्धिमा विशेष जोड दिएको छ । अन्तर्राष्ट्रिय मिडियामा नेपालको प्रवद्र्धन सहजै हुने अनुमान अभियानले गरेको छ । वी विल राइज फाउन्डेसनले बत्ती मात्र बाल्दा जसरी इन्टरनेसल मिडियाको ध्यानाकर्षण भएको थियो, त्यसरी नै यसले सगरमाथामा थुप्रिरहेको फोहोरका कारण पनि ग्लोबल वार्मिङको प्रभावले गर्दा त्यहाँको हिउँ पग्लिरहेको छ भन्ने सन्देश सारा विश्वलार्ई दिने अपेक्षा गरेका छन् आयोजकहरूले । हामी उठ्ने छौं अभियानले गत वर्ष सगरमाथा क्षेत्रबाट हिउँ पग्लेर देखा परेको चट्टानहरू प्रख्यात आरोही फूर्वा तेन्जिङ शेर्पा जो यो अभियानमा समेत लागेका छन् ल्याएर विश्वका आठ धनी राष्ट्र (जीएट) का कूटनीतिज्ञमार्फत ती राष्ट्रका प्रमुखहरूलाई हस्तान्तरण गरेर ग्लोबल वार्मिङले हिमालय क्षेत्रमा हिउँ पग्लिंदै गएकोमा ध्यानाकर्षण गराएका थिए ।
सिर्जनात्मक सामाजिक कार्यगर्ने योजनाअनुसार अघि बढिरहेको ‘वी विल राइज’ले पर्यटन प्रवद्र्धन गर्न र लुकेका पर्यटकीय सम्भावना उजागर गर्न देशैभर ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतिस्पर्धा गराइरहेको छ । देशभरका युवा जमातले आफनो गाउँ र क्षेत्रमा पर्ने पर्यटकीय ठाउँमाथि भिडियो बनाएर प्रतिस्पर्धामा भाग लिइरहेका छन् । स्तम्भकारले सुर्खेतमा यो कार्यक्रमको सहजकर्ता बन्ने अवसर पाएको थियो । प्रतिस्पर्धीहरूले पठाएका उत्कृष्ट भिडियो पुरस्कृत गर्नेछन् आयोजकहरूले । जसले जे गरिरहेको छ, त्यही गर्नुभन्दा पनि अलि फरक गर्ने हाम्रो प्रयास हो, अर्का अभियन्ता खड्ग परियार भन्छन्, ‘देश र समाजका लागि केही गर्नुपर्छ भन्ने भावना जगाउने अभियान हो— वी विल राइज । हामी दीर्घकालीन लक्ष्य लिएर हिँडिरहेका छौं ।’
हो, हामी निश्चय पनि उठ्नेछौं । कुनै पनि देशको युवा पुस्ता जब रचनात्मक काममा लाग्छ तब देशमा जागृति आउँछ । यो यस्तो अवसर हो जसले देशमा चेतनाको लहर फैलाउने मात्र होइन, विकासका लागि शारीरिक श्रम गर्नसमेत युवा पुस्तालाई झकझक्याउनेछ ।
हो, हामी पक्कै उठ्नेछौं । देशप्रतिको निष्ठा र स्वाभिमानले हामीलाई झकझक्याउनेछ !