साप्ताहिक संवाददाता
कपिल शर्मा तेज गतिमा सफलताको सिँढीमा उक्लिए अनि त्यही गतिमा तल झरे । मादक पदार्थ सेवन, झगडा एवं ईर्ष्याको आगोले उनी स्वयंलाई नोक्सान गर्यो । मानिसहरूलाई हँसाउने व्यक्ति आफैंभित्र यति कमजोर हुनु आश्चर्यको कुरा थियो । एकपटक फेरि कपिल शर्मा आफ्नो शो लिएर हाजिर भएका छन् र आफ्नो पुरानो लोकप्रियता फर्काउने प्रयास गरिरहेका छन् ।
द कपिल शर्मा शोमा कपिलका पुराना साथी कृष्णा अभिषेक, किकु शारदा, भारती सिंह पनि छन् । शोमा कपिल बदलिएका जस्ता देखिन्छन् । केही महिना पहिलेसम्म कपिल आफ्नो शोमा अभिनेत्रीहरूसँग टाँसिने बाहना खोजिरहेका हुन्थे । महिलाका बारेमा उटपट्याङ कुरा बोल्थे । दर्शकको पनि मजाक उडाउँथे । उनको कार्यक्रमको स्तरलाई लिएर पनि पर्याप्त आलोचना हुने गरेको थियो ।
अहिले भने कपिल शर्मा आफ्नो शोमा संयमित देखिन्छन् । उनी सीमामा रहेर काम गरिरहेका छन् भने आफ्ना कलाकार सहकर्मीहरूलाई समय दिन थालेका छन् । कपिलले आफ्ना उटपट्याङ गतिविधिमा समेत लगाम लगाएका छन् । शोमा अब केही नयाँ पाहुना देखिन थालेका छन् । शोको प्रोड्युसरका रूपमा सलमान खानको नाम छ ।
सलमान आफ्नो चलचित्र पूरा परिवारले एकसाथ हेर्न सकून् भन्ने कुरामा ध्यान पुर्याउँछन् । सलमानले यही परम्परा टिभी शोमा समेत कायम राखेका छन् । निर्माताका रूपमा सलमान यति ठूलो नाम हुन् कि जोसँग कपिल पनि डराउँछन् । त्यसकारण पनि सलमानले कपिलको उटपट्याङ शैलीमा लगाम कसिएको छ ।