साप्ताहिक संवाददाता
वैशाख २४, २०७६
हलिउडको चलचित्र एभेन्जर्स–इन्डगेमको विश्वव्यापी आक्रामक व्यवसाय नेपालमा पनि जारी रह्यो । काठमाडौंका केही सिनेमा हलमा चलचित्र प्रदर्शन हुनुभन्दा दुई दिन अघिदेखि टिकट काट्नेहरूको लाइन देखियो ।
उक्त चलचित्रको प्रदर्शनबाट केही नेपाली चलचित्रलाई भने नराम्रो धक्का लागेको छ । एभेन्जर्स प्रदर्शन भएकै दिन केशव भट्टराईको ‘यात्रा’ मल्टिप्लेक्सबाट बिदा भयो भने दीपकराज गिरीको ‘छक्कापञ्जा–२’ को रि–रिलिज मल्टिप्लेक्समा हुनै सकेन ।
त्यति माक्र होइन, अघिल्लो सातासम्म आत्रामक व्यवसाय गरिरहेको झरना थापाको ए मेरो हजुर–३ लाई पनि मल्टिप्लेक्सले शो कटौती गरिदियो । एभेन्जर्सको सफलताले गति लियो भने आज शुक्रबारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली चलचित्रलाई समेत प्रभाव पर्ने चलचित्र वितरकहरू बताउँछन् ।