साप्ताहिक संवाददाता
वैशाख २४, २०७६
नेपाली महिला फुटबलमा अब व्यवसायिकता पनि सुरु भएको छ, त्यो पनि विदेशमा । हालसालै सावित्रा भण्डारी र अनिता वस्नेत व्यवसायिक फुटबल खेल्न भारत गएका छन् । उनीहरूले महिलाको भारतीय लिग खेल्नेछन् र उनीहरूको क्लब हो— सेतु फुटबल । यो नेपाली महिला फुटबलका लागि निकै सुखद समाचार हो ।
केही समयअघि मात्र सम्पन्न हिरो गोल्डकप र साफ च्याम्पियनसिपमा यी दुवै खेलाडीले राम्रो खेले । उनीहरूको खेलबाट भारतीय टिम पनि प्रभावित थियो । त्यसैले स्ट्राइकर सावित्रा र मिडफिल्डर अनिताको भाग्य खुलेको हो ।
भारतीय लिग अर्को महिना सुरु हुनेछ । यसअघि फुटसल नै सही, यिनै सावित्रा र अनिताले माल्दिभ्समा पनि व्यवसायिक खेल खेलिसकेका छन् ।