सयौं म्युजिक भिडियो निर्देशन गरी आफुलाई अब्बल प्रमाणित गरिसकेका युगल पोमो लिम्बु निर्देशित चलचित्र नेचर गाईको हङकङमा स्पेशल शो हुने भएको छ । किरात याक्थुङ चुम्लुङ हिम सहयोगार्थ प्रर्दशन गर्न लागिएको चलचित्रलाई श्याम ईङ्नाम, रजिन साम्बा, हेम सिङगक, लोकराज आङबुहाङ, हेमराज आङछोम्बोले संयुक्तरुपमा निर्माण गरेका हुन् ।
रसुवा जिल्लाको गणेश हिमाल र लाङटाङ हिमालको काखमा रहेको एउटा सानो गाउँ गतलाङको कथा र मौलिकताको सेरोफेरोमा फिल्म घुमेको छ । निर्देशक पोमोका अनुसार तामाङ् समुदायको वाहुल्यता रहेकोे गतलाङ् समुद्र सतहबाट ५५०० फिट माथिको उचाईमा रहेको छ । प्रत्येक घरमा चौरी पाल्ने पेशा रहेको गतलाङ्मा महत्वपुर्ण वनस्पती यार्सागुम्बा, बहुमुल्य धातु रुबी लगायतको खानी पाईन्छ ।
काठमाडौबाट लगभग एकसय किलोमिटरको दुरिमा रहेको यो गाउँ एकादेशको कथाझै लाग्ने उनी बताउँछन् । नेपाली चलचित्रका लागि भर्जिन लोकेशनसहित तयार पारिएको नेचर गाई धादिङ् जिल्लाको सोमताङ, रुबी भ्याली लगायतका स्थानहरुमा समेत छायाङ्कन गरिएको छ ।