साप्ताहिक संवाददाता
सिल्भर जुब्ली संस्करणको मिस नेपाल प्रतियोगिताको तयारी अघि बढिरहेको अवस्थामा उक्त प्रतियोगिताको क्राउन पार्टनर आरबी डायमन्ड ज्वेलर्सले नयाँ वर्ष २०७६ को क्यालेन्डर प्रकाशनमा ल्याएको छ । उक्त क्यालेन्डरमा मिस नेपाल–२०१९ का २५ जना प्रतिस्पर्धी फिचर भएका छन् । ग्ल्यामर फोटोग्राफर अमृत बज्राचार्यले खिचेका ती तस्बिरमा मिस नेपाल–२०१९ का प्रतिस्पर्धीहरू विभिन्न आकर्षक पहिरनमा सजिएका छन् ।
उक्त क्यालेन्डरको वैशाख महिनाको पृष्ठमा जेनी महर्जन तथा मीरा कक्षपति फिचर भएका छन् । उनीहरू शेर्पा समुदायको पहिरनमा देखिन्छन् । जेठ महिनाको पृष्ठमा निशा पाठक तथा किरण थापा फिचर भएका छन्, जसमा उनीहरू नेवार समुदायको बेहुलीको भेषमा प्रस्तुत भएका छन् । असार महिनाको पृष्ठमा भने शिवानी घिमिरे तथा रक्षा उप्रेती आर्शिया काउचरले तयार पारेको ब्राइडल लेहेंगामा देखिन्छन् ।
क्यालेन्डरको साउन महिनाको पृष्ठमा जेनिशा थपलिया र रिया बस्नेतलाई देख्न सकिन्छ । उनीहरू रेड बोर्डर फेसनको हरियो रंगको फुल लेन्थ वन पिस ड्रेसमा प्रस्तुत भएका छन् । भदौ महिनाको पृष्ठमा अलिशा जोशी तथा अश्मिता महर्जन फेस्टिभल साडीमा सजिएको पाइन्छ ।
असोज महिनाको पृष्ठमा सारा बजिमय तथा न्यान्सी बोगटी चाडपर्वको परिवेश सुहाउँदो लेहेंगामा देखिएका छन् । यसैगरी कुर्ता सेटका सजिएका छन् सात्वना मालाकार र लक्ष्मी राउत । उनीहरू क्यालेन्डरको कात्तिक महिनाको पृष्ठमा फिचर भएका छन् । मंसिर महिनाको पृष्ठमा रोयल लुकको ब्राइडल वेयरमा देखिएका छन्— प्रथा अधिकारी र प्रकृति कटवाल । पुस महिनाको पृष्ठमा भने सोफिया भुजेल तथा पूजा श्रेष्ठसँग साक्षात्कार हुन सकिन्छ । उनीहरू रेड बोर्डर फेसनको ककटेल वेयरमा देखिन्छन् ।
क्यालेन्डरको माघ महिनाको पृष्ठमा लिम्बू ब्राइडल वेयरमा देखिएका छन्— नितिका कर्माचार्य र रोज लामा । फागुनको महिनाको पृष्ठमा स्मार्ट फर्मल वेयरमा सजिएका छन् संस्कृति घिमिरे, अनुष्का श्रेष्ठ र शुभेच्छा अधिकारी । क्यालेन्डरको चैतको महिनाको पृष्ठमा विपना सुवेदी तथा प्रदिप्ता अधिकारी क्रिस्चियन ब्राइल वेयरमा सजिएका पाइन्छन् ।