साप्ताहिक संवाददाता
कञ्चनपुरको महेन्द्रनगरमा जन्मिएकी रेखा जोशी सुदूर पश्चिमको देउडा गायनमा चर्चित नाम हो । रेखा देउडासँगै ठाडो भाका गायनमा समेत सक्रिय छिन् । झन्डै ६ वर्षको छोटो अवधिमै ५ सयजति गीतमा आफ्नो सुमधुर स्वर दिइसकेकी जोशी महोत्सव तथा सांगीतिक कार्यक्रमहरूमा पनि उत्तिकै व्यस्त हुन्छिन् । शंकरदेव क्याम्पसमा एमबीएस अध्ययरनत रेखा राष्ट्रिय मिडियामा भने उति देखिन्नन् । युवा पुस्ताकी यी चर्चित गायिकासँग साप्ताहिकको जम्काभेट :
निकै दिनदेखि काठमाडौंबाहिर हुनुहुन्छ, केमा व्यस्त हुनुहुन्छ ?
सुदूर पश्चिममा थुप्रै कार्यक्रम भैरहेका छन्, त्यसमै व्यस्त छु । फाट्टफुट्ट गीत पनि रेकर्ड गराइरहेकी छु । सँगै पढाइ पनि जारी छ, तर पढाइलाई उति समय दिन सकिरहेकी छैन ।
कति वर्ष भयो गीत गाउन थालेको ?
०७१ सालमा बैतडीका गायक करण रानाले पहिलो पटक मलाई ‘घुटुक्क बाडुली लाया...’ गीत गाउने मौका दिनुभएको थियो ।
महोत्सवमा त खुब हिँड्नुहुन्छ नि ?
हो, एक वर्षयता म थुप्रै महोत्सवमा सहभागी भएँ ।
तपाईं कस्ता गीतलाई प्राथमिकता दिनुहुन्छ ?
म खास देउडा मात्र गाउने मान्छे, हुन त दोहोरी पनि गाउँछु, दोहोरीबाट त्यति राम्रो भएन । मेरो स्वर देउडामै सुहाउने भएकाले पहिल्यैदेखि देउडा गाएँ । देउडा गीत नै धेरै गाएकाले अरू गीत गाउन पाएकी छैन् ।
ठाडो भाकाकी गायिकाका रूपमा पनि चिनिनुभएको छ त ?
ठाडो भाका पनि धेरै गाउने भएकाले मलाई ठाडो भाका गायिकाका रूपमा पनि चिनिन्छ । नयाँ पुस्ता अर्थात् मेरो जेनरेसनका धेरैजसो मानिसले ठाडो भाका सुन्दा पनि सुन्दैनन् । ठाडो भाका मन पनि पराउँदैनन्, तर हाम्रो देउडा संस्कृति भनेको ठाडो भाका हो । एक्लाएक्लै गाइने, आफ्नै सुरमा बहहरू, मनका व्यथाहरू पोख्ने माध्यम हो— ठाडो भाका । मैले एक्लै ठाडो भाका गाएकी छैन । हामीले यसलाई परिमार्जन गरेर दोहोरी टाइपको बनाएर गाउन थाल्यौं । पहिले ठाडो भाका उति चर्चामा थिएन । मैले गाउन थालेपछि बजारमा यसको माग बढ्दै गएको छ ।
तपाईंले बुझेको ठाडो भाका के हो ?
म देउडा गायिका भए पनि मैले देउडा संस्कृतिका बारेमा त्यति बुझ्न पाएकी छैन, तर देउडा धेरै गाए, खाली शब्द मात्र भएका बिना रसका गीत पनि गाएँ, टिपिकल खालका गीत पनि गाइयो । ठाडो भाका पहिलेको समयमा वनपाखा धाउँदा, गाईवस्तु चराउन जाँदा मनको व्यथा पोख्ने माध्यम हो । यो सुखमा भन्दा पनि दुःखमा गुनगुनाइन्छ ।
झन्डै ६ वर्षको अवधिमा कति गीत गाउनुभयो ?
ठ्याक्कै त भन्न सक्दिनँ, तर साढे ४ सय देखि ५ सयको हाराहारीमा गाएँ होला । ४ सयसम्म गनेकी थिए, त्यसभन्दा पछि गन्न पाएकी छैन ।
सुदूर पश्चिमको हिट गायिका हुनुहुन्छ । कमाइ कत्तिको छ ?
राम्रै छ । अहिले राम्रोसँग हिँड्न–खान पुगिरहेको छ, थोरै बचत पनि भैरहेको छ । नाम पनि कमाइरहेकी छु, म सन्तुष्ट छु ।
गीत गाएर अहिलेसम्म ठ्याक्कै कति कमाउनुभयो होला ?
त्यसरी त हिसाब राखेकी छैन । बसियो, खाइयो । एक–एक पैसाको हिसाब–किताब राख्न सकिएन । धेरै कमाए त भन्दिनँ तर जहिलेदेखि कार्यक्रममा हिँड्न थालें त्यो बेलादेखि केही बचत हुन थाल्यो । सुरु–सुरुमा गीत गाउँदा त काठमाडौं बसाइको खर्च धान्नै ठिक्क थियो । एकमुस्ट आउने भए देखिन्थ्यो होला । आज गायो आज आयो, भोलि गायो भोलि आयो— यस्तै हुन्छ गायक–गायिकाको कमाइ ।
सुदूर पश्चिमका कलाकारलाई आफ्नो जीवनशैली मेन्टेन गर्न कत्तिको सहज छ ?
सजिलो त छैन, अलि गाह्रै छ । आफूसँग स्वर छ, कला छ भने अघि बढ्न पनि सकिन्छ । राम्रो गाउन र सफल हुन सहज छैन । सबै कुरा घरपरिवारले पनि बुझिदिनुपर्यो, आफूले पनि बुझ्नुपर्यो, मागअनुसारका गीत दिन सक्नुपर्यो । दर्शक/श्रोताको मन जित्न सक्नुपर्यो । त्यसपछि मात्र यो क्षेत्रमा जम्न सकिन्छ ।
सुदूर पश्चिमका गीत गाउनुहुन्छ, त्यहाँको संगीतलाई मूलधारको संगीतसँग कसरी तुलना गर्नुहुन्छ ?
मूलधारको संगीतले हाम्रो सम्पूर्ण नेपाललाई समेटिरहेको हुन्छ । हामी एउटा निश्चित क्षेत्रमा बस्ने मानिस, हामीले आफ्नो क्षेत्रको कला, संस्कृति एवं मौलिकतालाई प्रतिनिधित्व गरिरहेका छौं । गीत–संगीत क्षेत्रीय भए पनि, राष्ट्रिय स्तरको भए पनि गीत–संगीत नै हो, भाका, भाषाजस्ता कुरा मात्र फरक हुन् ।
आधुनिक र लोकदोहोरी गीत गाउने योजना पनि छ ?
आधुनिक गीत गाउने ठूलो रहर छ । अहिले त म निश्चित क्षेत्रका गीत गाइरहेकी छु । कोही पनि निश्चित क्षेत्रमा सीमित भएर बस्न चाहँदैन । यो देशलाई हामी पनि उत्तिकै माया गर्छौ, त्यसैले नेपालभरि सुनिने गीत गाउने धोको छ ।
स्वरजस्तै मान्छे पनि राम्री हुनुहुन्छ ? कत्तिले पछ्याउँछन् ?
म कहिल्यै त्यो टाइपका कुरा गर्दिनँ । मलाई मानिसहरू अलि परिपक्व मान्छन्, यद्यपि म केटाकेटी नै छु, तर सबैले रेस्पेक्ट गरेर दिदी भनेर सम्बोधन गर्छन् । मलाई अल्लारे टाइपका केटाहरूले जिस्काउँदैनन् ।
विवाह कहिले गर्नुहुन्छ ?
विवाहका बारेमा अहिले नै कुनै योजना बनाएकी छैन । ह्यान्डसम केटा ठोक्किहालेछ भने सोच्नुपर्छ । दुई तीन वर्षसम्म गाऊँ, पछि के हुन्छ थाहा छैन, कस्तो जीवनसाथी पर्छ भन्न सक्दिनँ । नगाऊँ, गाउनु राम्रो होइन भन्ने टाइपको पर्यो भने मान्नै पर्यो, सम्बन्ध बिग्रनु पनि भएन । जहाँसम्म सहमतिमै विवाह गरौला तर पछिको कुरा कसले देखेको छ र ? त्यही भएर दुई–तीन वर्ष विवाह नगरौं कि भन्ने सोच छ तर भन्न सकिँदैन, लगनको कुरा कसलाई थाहा हुन्छ र ?
प्रेम विवाह कि मागी विवाह ?
प्रेम परेकै छैन । यसबीच प्रेम परेछ भने त्यो पनि सोचौंला अन्यथा मैले मागी विवाह नै गर्ने सोच बनाएकी छु ।
तपाईंको विचारमा प्रेम के हो ?
प्रेम भनेको कोही देख्दै मन पर्नु, कोही बिना बाँच्न नसक्नु त्यही त होला नि । प्रेममा परिएको छैन, त्यसैले के भन्नु ? प्रेम परेको भए प्रेम अन्धो हुन्छ भनिदिन्थें होला ।