साप्ताहिक संवाददाता
फुटबलका म्यारोडोनालाई सबैले चिन्छन् तर तपाईंलाई थाहा छ अर्जेन्टिनाको फिल्ड हक्किकी एक महिला खेलाडीलाई पनि हक्कीकी म्यारोडोनाको नामले चिनिन्छ । हो, अर्जेन्टिनाकी हक्कि खेलाडी लुसियाना एयमारलाई जादुगर र म्यारोडोनाको नामले बढी चिनिन्छ ।
अर्जेन्टिनाका तर्फबाट फिल्ड हक्कीमा उत्कृष्ट प्रदर्शन गरेकै कारण उनलाई फेडरेसन अफ इन्टरनेसनल हक्की संघले आठ पटक प्लेयर अफ दि इयरको उपाधि दिइसकेको छ, जसका कारण उनलाई अर्जेन्टिनाको खेलकुद क्षेत्रमा अल टाइम बेष्ट प्लेयर मानिन्छ ।
हक्की खेलमा चाहिने गति र ड्रिबलिङका लागि माहिर लुसियानाले सन् २०१२ मा अर्जेन्टिनाले ओलम्पिक प्रतियोगितामा सहभागिता गर्ने क्रममा राष्ट्रिय झन्डा बोकेर मार्चपास गरेकी थिइन् । लुसियाना यस्तो सम्मान पाउने मार्सेलो ग्यारोफपछिकी दोस्रो हक्की खेलाडी हुन् । च्याम्पियन्स ट्रफी तथा विश्वकपमा आफ्नो टिमलाई स्वर्ण पदक जिताई सकेकी लुसियानाले ओलम्पिकमा भने रजत पदकमै चित्त बुझाउनुपरेको थियो ।