साप्ताहिक संवाददाता
बिकिनी स्विम सुट फोटोका लागि स्पोर्ट्स इलुस्ट्रेटेड म्यागजिन विश्वभर लोकप्रिय छ । विश्वभरका सेलिब्रेटीहरूको बिकिनी फोटोसुट प्रकाशित गर्ने स्पोर्ट्स इलुस्ट्रेटेडले पहिलो पटक बुर्किना लगाएकी मुस्लिम मोडललाई प्रस्तुत गरेको छ । हलिमा आदिन बुर्किना लगाएर स्पोर्ट्स इलुस्ट्रेटेडका लागि फोटोसुट गर्ने पहिलो मोडल समेत भएकी छिन् ।
केन्याको काकुस्थित शरणार्थी शिविरमा जन्मिएकी हलिमाले अहिले सोमाली–अमेरिकन मोडलका रूपमा ख्याति कमाइरहेकी छिन् । २१ वर्षीया हलिमाले स्पोर्ट्स इलुस्ट्रेटेडका लागि पहिलो पटक हिजाब र बुर्किना लगाएर आफ्नै जन्मभूमि केन्याको वातामु समुद्री तटमा फोटोसुट गरेकी हुन् ।
फोटोग्राफर यू साइले खिचेको उक्त तस्बिरप्रति धेरै जना आकर्षित भएका कारण स्पोर्ट्स इलुस्ट्रेटेडले केही तस्बिरलाई आफ्नो वेबसाइटबाट सार्वजनिक गरेको छ । यो फोटोसुट भएको स्पोर्ट्स इलुस्ट्रेटेडको अंक भने एक सातापछि अर्थात् आगामी मे ८ तारिखमा प्रकाशनमा आउनेछ ।