साप्ताहिक संवाददाता
अभिनेता प्रदीप खड्कालाई आफ्नो स्टारडम जोगाउन हम्मे–हम्मे पर्न थालेको संकेत देखिएको छ । अघिल्लो वर्ष उनले अभिनय गरेका दुई चलचित्रमध्ये रोज व्यवसायिक रूपमा असफल भएको थियो भने लभ स्टेसन औसत सावित भएको थियो ।
लभ स्टेशनको दर्शक प्रतिक्रियापछि निर्देशक रामबाबु गुरुङले उनलाई ‘कबड्डी–३’ मा लिने कि नलिने निर्णय गर्ने बताएका थिए । लभ स्टेशनले आशा गरेअनुरूप सफलता नपाएपछि निर्देशक गुरुङले प्रदीपलाई आफ्नो महत्वाकांक्षी चलचित्रबाट ड्रप गर्ने संकेत दिएका छन् ।
यदि त्यस्तो भयो भने प्रदीपको हातबाट एउटा राम्रो प्रोजेक्ट गुम्नेछ । भन्नेहरूले त निर्देशक गुरुङले प्रदीपको स्थानमा निश्चल बस्नेतलाई अनुबन्ध गरिसकेको समेत बताइरहेका छन् । यद्यपि, यो कुराको आधिकारिक पुष्टि भैसकेको छैन ।
गुरुङकै आगामी चलचित्र ‘बेला’ मा भने प्रदीप नै मुख्य भूमिकामा प्रस्तुत हुनेछन् । यसबीच अभिनेता खड्का भने चलचित्र प्रेमगीत–३ को तयारीमा जुटेको बताइन्छ ।