साप्ताहिक संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीता पौडेलबीच आज बिहे हुँदैछ । उनिहरुको बिहे भएको ५० औं बर्ष पुगेको उपलक्ष्यमा छोरीहरू रेणु र गंगाले अपरान्ह ५ बजे खुमलटारस्थित एक पार्टी प्यालेसमा पुनःविवाह गराउने कार्यक्रम आयोजना गरेका छन् ।
उक्त कार्यक्रममा आफन्त, पार्टीका केही नेता र मन्त्रीहरुलाई निम्तो गरिएको दाहाल सचिवालय स्रोतले जनाएको छ । दाहाल जोडीका चार सन्तानमध्ये रेनु चितवन महानगरकी मेयर छन् । अर्की छोरी गंगाको निजी सचिवालयको जिम्मेवारी हेर्छिन् । जेठी छोरी ज्ञानु र छोरा प्रकाशको भने निधन भइसकेको छ ।
यसरी भएको थियो प्रचण्ड–सीताको बिहे
प्रचण्डले सीतासँग १५ वर्षको उमेरमा २०२६ सालमा मागी विवाह गरेका थिए । त्यतिबेला सीता पनि १५ वर्षकी नै थिइन् । दाहाल र पौडेलका परिवार पुख्यौली थलो कास्कीबाट बसाई सरेर चितवन झरेका थिए । विवाहभन्दा पहिले उनिहरुबिच चिनजान थिएन । कास्की, ढिकुर पोखरीमा प्रचण्डको घर थियो, हेङजामा सीताको । सीतालाई त्यतिबेला माग्नका लागी धेरै आएका थिए । तर, उनको मामाले प्रचण्डसँग विवाह गरिदिनुपर्छ भनेर जोड गरेपछि उनिहरुको विवाह सम्भव भएको हो । विवाहको कुरा चलिसकेपछि कहिलेकाहीँ बाटोमा उनिहरु भेटिन्थे । बिहे पक्का भएपनि उनिहरुबिच धेरै समय बोलचाल भएन । बिहे भएको लामो समयपछि मात्रै बोलचाल भएको सीता दाहाल बताउँछिन् ।
भुमिगत जीवन बिताउँदा पनि सँग–सँगै
प्रचण्डले बेला बेलामा आफ्नी धर्मपत्नी सीताको निकै ठुलो साथ र सहयोग मिलेको बताउँदै आएका छन् । दाहालले झण्डै १३ वर्ष भूमिगत जीवन बिताउँदा श्रीमतीपनि सँगैसँगै थिइन् । कहिले नेपाल, कहिले भारत हुँदा समेत उनिहरु कहिल्यै छुट्टिएनन् । दश वर्षसम्म जनयुद्ध चलेको थियो । २०६२–०६३ को जनआन्दोलनपछि सुरू भएको शान्ति प्रक्रियापछि खुला राजनीतिमा आएका थिए ।
२०६४ मा पहिलोपटक प्रधानमन्त्री
२०६४ सालको संविधानसभा निर्वाचनपछि बनेको सरकारमा दाहाल पहिलो पटक प्रधानमन्त्री बनेका थिए । त्यसको झन्डै नौ वर्षपछि दाहाल दोस्रो पटक प्रधानमन्त्री बनेका थिए । माओवादी केन्द्रलाई नेकपा एमालेसँग एकीकरण गरेपछि बनेको नेकपामा दाहाल अध्यक्ष छन् । उनि अब केपी ओलीपछि पुनः प्रधानमन्त्री हुने चर्चा छ ।
जव सीता अस्वस्थ भइन्
दाहालपत्नी सीता दाहाल केहिबर्षअघिदेखी विरामी छिन् । सीता बिरामी भएपछि उनलाई पछिल्लो समय अमेरिकामा उपचार गराइएको थियो । सीता ‘प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी’ (पिएसपी) रोगबाट पीडित छन् । छोराको निधन भएपछि सीता झन् ग्रस्त भइको बताइन्छ । सीतालाई निको नहुने रोगले सताएको छ । पिएसपी दुर्लभ खालको रोग हो । यो रोग एक लाख मानिसमध्ये ५–६ जनामा मात्र देखिने चिकित्सकहरु बताउँछन् ।
सीता दाहालको स्वास्थ्यलाभको कामना तथा बिहे भएको ५० औं बर्षको उपलक्ष्यमा हार्दिक बधाई !