साप्ताहिक संवाददाता
नेपाल टेलिकमले विभिन्न वस्तु तथा सेवा खरिद गर्दा मोबाइलबाटै पैसा तिर्न मिल्ने ‘मोबाइल मनी’ सेवा सुरु गर्ने भएको छ । यसका लागि नेपाल टेलिकम तथा राष्ट्रिय वाणिज्य बैंकका बीचमा समझदारी भएको छ ।
कम्पनीले सञ्चालन गर्ने मोबाइल मनी सेवामा सिमबाटै सिधै भुक्तानीको सुविधा लिन सकिनेछ । यो सेवा शुरु भएपछि बिना कुनै इन्टरनेट वा एप्लिकेसन बजारमा कुनै सामान किन्न, रेस्टुराँमा खान वा कुनै सेवा उपभोग गर्न मन लागे आफ्नो मोबाइलबाटै पैसा तिर्न सकिनेछ । यसबाट मनी ट्रान्सफर, एयरटाइम टपअप तथा युटिलिटी बिल पेमेन्टजस्ता कार्य गर्न सकिने बताइएको छ ।
विश्वका विभिन्न देशमा मोबाइलबाटै पैसा तिर्न सकिने व्यवस्था छ । यो व्यवस्था नेपालमा पनि लागू गर्ने कार्यको थालनीका लागि गृहकार्य प्रारम्भ भएको हो । केही महिनामै यो कार्य नेपालमा पनि सुरु हुने अपेक्षा गरिएको छ । यदि त्यसो भयो भने अब कुनै पनि सामान किन्न वा बिल तिर्न पैसा नभै मोबाइलमा भएको ब्यालेन्स प्रयोग गर्न सकिनेछ ।