साप्ताहिक संवाददाता
अघिल्लो वर्ष अभिनेता दयाहाङ राईका तीनवटा चलचित्र भैरे, नेप्टे तथा साइँली प्रदर्शनमा आए । यी तीनमध्ये साइँली मात्र सफल भयो, बाँकी दुई चलचित्र चलेनन् । यो वर्ष दयाहाङका झन्डै आधा दर्जन चलचित्र प्रदर्शन हुने क्रममा छन् । तीमध्ये तीनवटा चलचित्र त आउँदो जेठ महिनामै प्रदर्शन हुँदैछन् ।
जेठ ३ गते जात्रैजात्रा, जेठ १० गते दयारानी तथा जेठ २४ गते आप्पा प्रदर्शन हुने निश्चित छ । जात्रैजात्रामा दयाहाङसंगै बिपिन कार्की, रवीन्द्र झा तथा रवीन्द्रसिंह बानियाँ पनि छन् । त्यसैले यो चलचित्रको सफलताप्रति निर्देशक प्रदीप भट्टराईसँगै दयाहाङ पनि ढुक्क छन् ।
त्यसो त दयाहाङले दयारानी तथा आप्पाबाट पनि उत्तिकै आशा गरेका छन् । यद्यपि एकै महिना एउटै अभिनेताका तीन–तीनवटा चलचित्र प्रदर्शन हुने भएपछि दर्शकलाई उनका कुन चलचित्र हेर्ने भन्ने कुराले द्विविधामा पार्ने निश्चित छ । दयाहाङजस्ता प्रतिभाशाली तथा लोकप्रिय अभिनेताका चलचित्र एउटै महिना प्रदर्शन गर्नुका साटो महिनाको एउटाका हिसाबले प्रदर्शन गर्दा ती चलचित्र व्यवसायिक रूपले सबल हुने थिए कि ?