केही समयअघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरामा रेडलाइट एरियाका सम्बन्धमा बहस चलाउनुपर्ने मुद्दा अघि सारे । उनले उठाएको यो विषयको पक्ष/विपक्षमा विभिन्न तर्क आए । गुरुङले मिडियामार्फत पनि आफ्नो तर्क र सोचलाई अगाडि सारे । त्यसले केही समय राम्रै तरगं ल्यायो ।
यतिबेला गण्डकी प्रदेशमा इन्जोय जोन निर्माण गर्ने तयारी गरिएपछि पुनः चर्चा–परिचर्चा सुरु भएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पोखरा क्षेत्रमा इन्जोय जोन बनाउने तयारी गरेको समाचारमा जनाइएको छ । मन्त्रालयले पर्यटकहरूलाई लक्षित गरी चौबीसै घण्टा सञ्चालन हुने गरी निश्चित मनोरञ्जन क्षेत्र (इन्जोय जोन) निर्माण गर्न लागिएको बताएको छ । गण्डकी प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पोखराबाट देखिने सुन्दर, हिमाल, ताल आदिका मनमोहक दृश्य अवलोकन गर्न मिल्ने गरी त्यस्तो क्षेत्र तयारी गर्न लागिएको कुरा बताएका छन् । विदेशमा हुने अधिकांश सुविधा उपलब्ध गराई चौबीसै घण्टा खुला हुने गरी इन्जोय जोन तयार गरिने उनले जानकारी दिए ।
इन्जोय जोनका लागि प्रदेश सरकारले डीपीआर तयार पार्नेछ भने त्यसको सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिइनेछ । सरकारले तोकेको निश्चित ठाउँमा पर्यटकीय गतिविधि खुल्ला हुनेछ । प्रदेश सरकारले इन्जोय जोन घोषणा गरेपश्चात उक्त क्षेत्रमा हुने पर्यटकीय गतिविधिमा प्रहरी प्रशासनले कुनै हस्तक्षेप गर्दैन । भित्री घेरा खुला भए पनि बाहिरी घेरामा आवश्यकताअनुसार सुरक्षाको व्यवस्था हुने मन्त्री लम्सालले बताए ।
विश्वका पर्यटकीय मुलुक डेनमार्क, थाइल्यान्ड आदिमा पर्यटकले चाहने सम्पूर्ण सुविधा उपलब्ध हुन्छन् । विदेशी पाहुनाहरूलाई आवश्यक पर्ने खाना, खाजा, खेल्ने, रमाउने, स्वीमिङ, स्पाः मसाज, ज्याकुजी आदि सुविधा उपलब्ध हुनेछन् भने ऊक्त क्षेत्रमा यौनजन्य त्रियाकलापले समेत छुट पाउनेछ । उक्त इन्जोय जोनको डीपीआरका लागि मात्र ९ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री लम्सालले बताएका छन् ।
सराङकोटदेखि पामे आसपासको क्षेत्रलाई आधार बनाएर यसको अध्ययन भैरहेको छ । करिब एक वर्षभित्र उक्त इन्जोय जोन सञ्चालन ल्याउने तयारी गरिएको मन्त्री लम्सालले जानकारी दिए । इन्जोय जोनबाट सरकारले निश्चित कर संकलन गर्नेछ ।