साप्ताहिक संवाददाता
पोखरामा डिस्को सञ्चालनमा आएको २५ वर्षभन्दा बढी भैसकेको छ । यसबीच यहाँका डिस्कोमा विभिन्न खालका उतारचढाव आए । सुरुमा विदेशीलाई लक्षित डिस्कोले बिस्तारै स्वदेशीहरूको समेत ध्यान खिच्न थाल्यो । त्यतिबेला डिस्को विशेष गरी लाहुरेहरूको रोजाइमा थियो ।
केहि ग्याङस्टारहरूसमेत त्यहाँ रमाउन हौसिए । यसमा केही विकृतिसमेत देखिए, झैझगडा हुन थाल्यो । एक समय डिस्कोमा झगडा हुन्छ भन्ने मान्यता नै स्थापित भयो, तर पनि यसको आकर्षणमा भने कुनै कमी आएन । डिस्कोमा पुगेर रम्न खोज्ने आन्तरिक पर्यटकको संख्या विस्तारै बढ्दै गयो ।
वि.सं. २०५७ तिर डिस्कोको आर्कषण उत्कर्षमा थियो । फेरि सरकारले रात्रीकालिन व्यवसायमा कडाइ गर्यो । राति अबेरसम्म व्यवसाय सञ्चालन गर्न नपाउने नियम आयो । यसको असर डिस्कोमा समेत देखियो । अहिले डिस्कोको आकर्षण पुनः बढेको छ । हाल डिस्कोमा स्थानीय बासिन्दाका साथै पोखरा घुम्न आएका आन्तरिक पर्यटकको संख्या बढी हुन्छ ।
पोखराको मार्क्यु डिस्को थेकका सञ्चालक सुमन श्रेष्ठ स्थानीय ग्राहकले डिस्को धानेको बताउँछन् । डिस्कोमा पुगेर रम्न खोज्नेहरू विगतमा विदेशी बढी भए पनि अहिले स्थानीय बासिन्दाहरू नै बढी हुन्छन् । पोखरामा २०४८ सालतिर जोकर नामक डिस्को खुलेको थियो ।
केही समय जोकरको नाममा सञ्चालनमा आए पनि पछि त्यसको नाम परिवर्तन गरी लोटस डिस्को बनाइयो । लोटसपछि उक्त डिस्को एसियाना डिस्कोको नाममा सञ्चालनमा आयो । १२ वर्षसम्म एसियाना डिस्कोको नाममा सञ्चालनमा रहे पनि नौ महिनाअघिदेखि मार्क्यु डिस्कोथेकको नाममा उक्त डिस्कोलाई निरन्तरता दिइएको छ ।
२०६७ सालदेखि सञ्चालनमा आएको ओजन डिस्कोका सञ्चालक महेन्द्र गुरुङ पोखराको पर्यटन क्षेत्रमा नाइट लाइफ चाहिन्छ भन्ने उद्देश्यले डिस्को सञ्चालनमा ल्याएको बताउँछन् । ओजनमा विदेशी पर्यटकको संख्या समेत उल्लेख्य हुन्छ । ३ सय जना क्षमताको ओजनमा टिनएजका युवा–युवतीको आर्कषण बढी देखिन्छ । पोखराका डिस्को राति ८ बजेपछि खुल्छन् । त्यहाँ अन्य दिनको तुलनामा शुक्रबार र शनिबार बढी भीड देखिन्छ । डिस्कोमा १८ वर्षभन्दा माथिको उमेर समूहले मात्र प्रवेश गर्न पाउँछन् भने त्यहाँ जुस, पानी, ककटेल, मकटेलको स्वादमा डिजे सेसनको मज्जा लिने अवसर पाइन्छ ।
डिस्कोमा राति १० बजेपछि भीड बढ्न थाल्छ । यहाँका डिस्को राति २ बजेसम्म सञ्चालनमा रहन्छन् । पोखराका डिस्कोमा सामान्यतः ५ सय तथा १ हजार रुपैयाँ प्रवेश शुल्क लाग्छ । ठूला इभेन्ट तथा पार्टी हुँदा थप शुल्क तिर्नुपर्ने हुन सक्छ ।
उड स्टक, प्लानेटजेड, प्याराडिसो आदी डिस्को पोखरामा सञ्चालनमा आए पनि विभिन्न उतारचढावका कारण तिनले निरन्तरता प्राप्त गर्न भने सकेनन् ।
पोखरामा सञ्चालनमा रहेका डिस्को
ओजन डिस्को, लेकसाइड
मार्क्यु डिस्को थेक, लेकसाइड
भुँडो क्लब लाउञ्ज, होटल पोखरा
क्लब कर्मा, लेकसाइड
दी ट्रेजर लाउञ्ज, लेकसाइड
औरा लाउञ्ज एण्ड बार, लेकसाइड
म्याट्रिक्स क्लब, लेकसाइड
क्लब ग्राभिटी, लेकसाइड