साप्ताहिक संवाददाता
निरन्तर शनिबारको यस पटकको श्रंखलामा कवि हेम प्रभासले आफ्ना कविता वाचन गरेका छन् । कविताका विषयमा धेरै विद्वानहरुले बोले, लेखे पनि कविताका कुरा नसिद्धिएका र यही नै कविता हो भन्न नसकिएको प्रसङ्ग सहित मञ्चमा देखा परेका कवि हेमले करिव ६ शिर्षकका कविता वाचन गरेका थिए ।
उनले कार्यक्रममा कलाका विभिन्न विधाहरुमध्ये कविता श्रेष्ठ भएको र प्रकृतिले दिने आनन्द कवितालेनै दिने बताएका थिए । कवितालाई हृदयको स्पन्दनको रुपमा परिभाषित गर्दै कवि हेमले मानिसको जीवन कविताबाट विमुख हुन नसक्ने उल्लेख गरे । कार्यक्रममा कवि हेमप्रभासले ( पत्रको सरांश, मेरा बा किसान हुन्, तिम्रो भाग्यको निलो पहाड, कवि किस्नेको सपना, नयाँ शताब्दीको बुढो बालक र अधुरो सिलसिला गरी छ वटा कविता सुनाएका थिए ।
यसै गरी सोही श्रंखलामा गजलकार जय गौडेल पनि सुनिएका थिए । गजल सम्बन्धी आफ्नो धारणा राख्ने क्रममा गजलकार गौडेलले गजल गेयात्मक विधा भएकाले यसमा लयको पालना अनिवार्य भएको जिकिर गरे । शास्त्रीय लयका अलवा लोक लयलाई पनि छान्न सकिने र विभिन्न नेपाली लोक लयमा राम्रा राम्रा गजल लेख्न सकिने उनको भनाई थियो । कार्यक्रममा गौडेलले– सबैभन्दा मलाई..., खडेरी छ बाहिर..., छातीभरि देश दुख्छ..., चरी भन्नु मलाई...गरि चार वटा गजल र ‘मधुसुदन हौँ’ शीर्षकको एउटा छन्द कविता सुनाए ।