वैदेशिक रोजगारीमा आउँदा समस्या नै मात्र हुन्छ भन्ने छैन । जान्न, बुझ्न र गर्न सके यहाँ चुनौतीसँगै अवसर पनि छन् । बुझ्दै जाँदा विदेशमै कतिले आफ्नै होटल सञ्चालन गरेका छन् त कतिले फेन्सी, कार्गो आदि व्यवसाय सञ्चालनमा ल्याएका छन् । यी व्यवसायसँगै कतिले ट्राभल्स कम्पनी खोलेर राम्रो व्यवसाय गरेको पाइन्छ, तर त्यसका लागि स्थानीय नागरिकसँग सहकार्य गर्नु जरुरी हुन्छ, ताकि त्यहाँ आइपर्ने सम्पूर्ण समस्या, कानुन, छुट्टीलगायतका विषय उसले हेर्न सकोस् ।
त्यसैगरी विदेशमा विभिन्न कामका लागि कामदारहरू आएका हुन्छन् । बिल्डिङ बनाउने, पेन्टिङ गर्ने, फर्निचरको काम, क्यासियर, ड्राइभिङ, सेल्स म्यान, खेतीको काम, अफिसको काम, प्लम्बिङ, व्यवस्थापनजस्ता विभिन्न काम जुन कतिपयले नेपालमै सिकेर आएका हुन्छन् त कतिपयले यतै आएर सिक्छन् । ती काम आफ्नो मुलुकमा गएर आफैं पनि सञ्चालन गर्न सकिन्छ । यो पनि अर्को अवसर हो ।
विदेशमा समस्या त धेरै छन्, तैपनि यहीँबाट खुशी लिएर जानेहरू पनि उत्तिकै छन् । युरोप–अमेरिकातिर त धेरै नेपालीले आफ्नै व्यवसाय सञ्चालन गरिरहेका छन् भने मलेसियालगायत खाडी मुलुकमा आउने धेरै नेपाली विभिन्न कम्पनीमा काम गरिरहेका छन् र उनीहरूले काम पनि सिकिरहेका छन् ।
जति घोकेर पढेर लोकसेवा दिए पनि कतिको नाम निस्कन्छ, कतिको निस्कँदैन, निजी कम्पनीहरूमा त नातेदार नै चाहिन्छ जागिर खान, अनि खेती किसानी गर्यो उचित दाम पाइँदैन त कतिपय ठाउँमा सिँचाइको असुविधा एवं कमजोर बजार व्यवस्थापनले सताउँछ । आफ्नै व्यवसाय गरौं देशमा व्याप्त अराजकता, लगानी गर्न पुँजिको अभावजस्ता समस्याले गर्दा देशमा कुनै रोजगारीको सम्भावना नदेखेपछि बिदेसिनु बाध्यता बनेको तितो यथार्थ हामीकहाँ छ । विदेशमा आइसकेपछि केही दिन अवश्य समस्या हुन्छ तर त्यससँगै हामीले अवसर पनि सिर्जना गरिरहेका हुन्छौं ।
काम आफैंमा सानो ठूलो हुँदैन, जुन कुरा विदेश गएपछि अझ बढी थाहा हुन्छ । यही सोचका साथमा विदेशमा सिकेको सीपलाई नेपालमा लगानी गरेर केही गर्न सक्ने हो भने विदेश बसाइलाई समस्याभन्दा पनि अवसरका रूपमा लिन सकिने कुरामा दुईमत हुँदैन ।