साप्ताहिक संवाददाता
वैशाख २९, २०७६
अमेरिकी टेलिकम्युनिकेसन नेटवर्क निर्माता कम्पनी एटीएन्डटीले फाइभजी नेटवर्कको सफल परीक्षण गरेको छ । परीक्षणको समयमा २ जीबीपीएसको इन्टरनेट स्पिड हासिल भएको छ ।
एट्लान्टामा गरिएको उक्त परीक्षणका लागि नेटगियर कम्पनीले तयार गरेको मोबाइल राउटर प्रयोग गरिएको थियो । परीक्षणपछि एटीएन्डटीले दुई घण्टाको एचडी मुभी केवल १० सेकेन्डमै डाउनलोड गर्न सकिएको बताएको छ ।
हाल कैयौं घण्टामा भैरहेको काम फाइभजी नेटवर्कमा केही मिनेटमै गर्न सकिनेछ । यसभन्दा पहिले भेरिजोनले पनि यस्तै परीक्षण गरेको थियो । यद्यपि त्यो इनडोरमा सीमित थियो र उक्त समयमा सिग्नल धेरै नै डाउन भएको पाइएको थियो ।