साप्ताहिक संवाददाता
अघिल्लो साता आफ्नै निर्देशनको नयाँ चलचित्र साङ्लोको औपचारिक घोषणा सभामा अभिनेता विराज भट्टसँग सञ्चारकर्मीले विभिन्न जिज्ञासा राखेर हैरान पारे । चलचित्रका बारेमा भन्दा उनको केही साताअघिको ‘फाइट’ का बारेमा जिज्ञासा बढी थिए । विराज विरुद्ध निर्माण नियन्त्रक शंकर पाण्डेले मुक्का प्रहार गरेको आरोप लगाएका थिए ।
चलचित्र प्राविधिक संघको पहलमा दुवै पक्षबीच आगामी दिनमा हात हालाहाल नगर्ने सहमति समेत भैसकेको छ । हालैको समारोहमा भने अभिनेता भट्टले प्राविधिक पाण्डेकै गल्तीका कारण आफूले हात उठाउनु परेको बताएका छन् । ‘कुटपिटका घटना हुनु राम्रो होइन, भट्टको भनाइ छ– ‘मैले हात उठाउनु हुँदैनथ्यो, मैले उहाँसँग माफी मागिसकेको छु ।’
यसबीच भट्टले आफ्ना लागि कसैसँग कुटपिट हुनु नौलो नभएको बताएका छन् । ‘मैले चलचित्रमा आउनुअघि नै केही व्यक्तिलाई कुटिसकेको थिएँ, भट्टको भनाइ छ–‘म पर्दाभित्र मात्र फाइट गर्दिन, कहिलेकाहीँं पर्दा बाहिर पनि फाइट गर्छु । यो मेरो नेचर नै हो ।’ भट्टको यस्तो प्रतिक्रिया सुनेर सञ्चारकर्मीहरूले मुखामुख गरेका थिए ।