साप्ताहिक संवाददाता
अहिले माटोको भाँडा प्रयोग गर्ने पुरानो सभ्यता लोपोन्मुख अवस्थामा छ । त्यसको संरक्षणमा टेवा पुर्याउने अनि पूर्वीय फुड कल्चर जोगाउने तथा माटाको भाँडामा बनेका हाइजेनिक र फरक स्वादका परिकार पस्कने उद्देश्यका साथ नयाँबानेश्वरको देवीनगरमा मटिया हाउस सञ्चालनमा आएको छ । यो रेस्टुराँ सेतोपुलबाट अनामनगरतर्फ जाने धोबीखोलमार्गमा अवस्थित छ ।
मटियाको अर्थ माटोबाट बनेका स–साना भाँडाकुँडा बुझिन्छ । माटाको भाँडामा चियादेखि माटाकै भाँडामा तयार पारिएको मटन बिरयानीसम्मका खानेकुरा यो रेस्टुराँको मेनुमा छन् । रेस्टुराँ सञ्चालक विवश काफ्ले माटोका भाँडामा कसरी परिकार पस्किने भन्ने विषयमा भारतको विहार पुगेर त्यहाँका रेस्टुराँहरूको अध्ययन गरेर फर्किएपछि यो रेस्टुराँ सञ्चालनमा ल्याइएको जानकारी दिन्छन् ।
काफ्लेका अनुसार एक महिनाको अवधिमै माटाका भाँडामा पकाइएको चिकेन तथा मटन विरयानी निकै लोकप्रिय भैरहेको छ । रेस्टुराँमा चिकेन, मटन, र्याबिट, फिस तथा अष्ट्रिच करी पनि उपलब्ध हुन्छ । त्यस्तै यहाँ पोलेको चिकेन, मटन र अष्ट्रिच, साँधेको चिकन, मटन, अष्ट्रिचका साथै खीर पनि पाइन्छ । यी सबै खानेकुरा माटोका भाँडामा पकाइन्छ भने रेस्टुराँले माटाकै भाँडामा ती खानेकुरा सर्भ गर्ने गरेको छ ।
‘माटोमा खानेकुरा ढिलो गरी पाके पनि स्वादिष्ट र हाइजनिक हुन्छ,’ सञ्चालक काफ्ले भन्छन् । यो रेस्टुराँको मेनुमा माटाको भाँडामा सर्भ गरिने ५० रुपैयाँको चियादेखि ७ जनासम्मलाई पुग्ने १४ सय रुपैयाँको चिकेन बिरयानीसम्म अटेको छ । मटिया हाउसमा स्वादिष्ट परिकारसँगै मिथिला कलासमेत अवलोकन गर्न सकिन्छ ।