साप्ताहिक संवाददाता
वैशाख ३१, २०७६
जापानको ओपन मिल्स नामक कम्पनीले आफ्ना रेस्टुराँहरूमा ग्राहकलाई उनीहरूलाई आवश्यक पोषक तत्वहरूका आधारमा परिकार उपलब्ध गराउने भएका छन् । यसका लागि रेस्टुराँले ग्राहकसँग खानाको अर्डर लिनुअघि ग्राहकको शरीरमा आवश्यक पोषक तत्वको जानकारी लिन उनीहरूको पिसाब, र्याल अथवा रगतको स्याम्पल लिनेछ ।
त्यसपछि उक्त स्याम्पलको परीक्षण गरेर ग्राहकलाई आवश्यक पोषकतत्व सहितको परिकार थ्री डी प्रिन्टेड प्रविधिमार्फत उपलब्ध गराइन्छ । प्रारम्भिक चरणमा यसमा जापानी परिकारले प्राथमिकता पाउने छन् भने कालान्तरमा लोकप्रियताका आधारमा कन्टिनेन्टल परिकार पनि समावेश गरिने छ । उक्त रेस्टुराँको यो परियोजना आगामी वर्षदेखि सुरु हुने बताइएको छ ।