साप्ताहिक संवाददाता
सुशील श्रेष्ठको मुख्य भुमिका रहेको चलचित्र लभ डायरिजको फर्स्टलूक पोस्टर र रिलिज डेट सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा अभिनेत्री रुबीना थापासँग सुशील रोमान्टिक अवतारमा देखिएका छन् । यो चलचित्रबाट रुबीना र विश्वजित रिमालले डेव्यु गर्दैछन् ।
सौरभ चौधरीको निर्देशनमा निर्माण भएको चलचित्र आगामी असोज ३ गते प्रदर्शन हुने भएको छ । सौरभ यो चलचित्रबाट निर्देशनमा डेब्यु गर्दैछन्, उनि पेशाले सिभिल इन्जिनियर हुन् । उनले यसअघि केहि चलचित्रमा सहायक निर्देशनको भुमिका निर्वाह गरेका छन् ।
चलचित्रमा अर्जुनजंग शाही, विशाल पहारीको विशेष अभिनय देख्न सकिनेछ । चलचित्रमा सुशीलले विदेशी मोजमस्तीमा रमाएको युवकको भूमिका निर्वाह गरेको बताइन्छ । युवा–युवती बिचको प्रेम तथा कमेडीलाई प्रस्तुत गरिएको चलचित्र मनोरन्जनात्मकसँगै सन्देशमुलक रहेको निर्माण पक्षले बताएको छ ।
विनोद सापकोटाले निर्माण गरेको चलचित्रका एसोसियट निर्देशक साहिल खान हुन् । उनले यो भुमिकामा पहिलो पटक काम गरेका छन् । चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गर्दैछन् ।
‘लभ डायरीज’ को डिओपीमा संजय लामा, कोरियोग्राफीमा कविराज गहतराज र चार गीत समावेश संगीतमा अर्जुन पोखरेल रहेका छन् ।
चितवन, पोखरा र काठमाण्डौंमा छायाँकन गरिएको चलचित्रमा झण्डैं २ करोड लगानी भएको निर्माण पक्षले जानकारी दिएको छ । यसका केहि गीत भने गोक्यो लेक र भियतनाममा खिचिने सहायक निर्देशक शाहिल खानले बताए ।