साप्ताहिक संवाददाता
हिट चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को आधिकारिक घोषणा गरिएको छ । रामबाबु गुरुङले निर्देशन गर्ने चलचित्रको यहि सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि सुपरहिट सिरिजको तेस्रो सृंखला घोषणा गरिएको हो ।
चलचित्रको मुख्य भुमिकामा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, कर्मा शाक्य, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सन बिक्रम राई, बुद्दि तामाङ, लुनिभा तुलाधर, विजय बराल मुख्य क्यारेक्टरका लागी फाइनल भएका छन् ।
स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्द रहने चलचित्रमा कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के राई, डि.बि गुरुङ, राजेन्द्र थापालगायतका कलाकारको पनि अभिनय रहनेछ ।
बासुरी फिल्मसको निर्माण र सिनेमा आर्टको प्रस्तुति रहने चलचित्रसँग माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले सहकार्य गरेका छन्, चलचित्रका निर्माता मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियार हुन् ।
यो चलचित्र जेठ ५ देखि छायाँकनमा जाने निर्देशक रामबाबु गुरुङले बताए । शैलेन्द्र ध्वज कार्कीको छायाँकन, निमेष श्रेष्ठको सम्पादन र रोहित शाक्यको संगीत रहने यो चलचित्र मुस्ताङ, पोखरा र घान्द्रुक लगायतका स्थानमा छायाँकन हुनेछ । चलचित्रको रिलिज डेट भने फाइनल गरिएको छैन ।