साप्ताहिक संवाददाता
कला पंगेनी, गायिका
सांगीतिक व्यस्तता कस्तो छ ?
रेकर्डिङदेखि सांगीतिक कार्यक्रमहरूमा सहभागिता जनाउने क्रम जारी छ । अहिले चाहिँ तीजका गीत रेकर्ड गराइरहेकी छु ।
तीज लागिसक्यो र ?
तीज आउन केही महिना बाँकी भए पनि हामी संगीतकर्मीहरूलाई केही महिना पहिलेदेखि नै तीज लाग्छ ।
यसपटकको तीजमा कस्ता गीत ल्याउँदै हुनुहुन्छ ?
मैले हरेक वर्षका तीजमा एक–एकवटा गीत ल्याउँदै आएकी थिएँ । यसपटक दुर्गा पंगेनी तथा नरेन्द्र बस्नेतको शब्द तथा लय संकलनमा दुई भिन्न गीत रेकर्ड गराउँदैछु ।
तपाईंका चलेका तीज गीत कुन–कुन हुन् ?
मैले हालसम्म १४ वटा तीज विशेष गीत गाएकी छु । तीमध्ये गत वर्ष गायक बद्री पंगेनीसँगको चिटिक्कै मलाई सुहायो तथा परार सालको पार्टी घरैमा गीत श्रोताहरूले बढी मन पराउनु भएको थियो ।
तपाईंको राष्ट्रिय भाव बोकेको गीत त खुबै चल्यो होइन ?
पशुपति शर्मासँग गाएको जोगाउनु छ कालापानी..युट्युबमा १० लाखभन्दा धेरै पटक हेरिएको छ । त्यसबाट मैले चारवटा एवार्ड समेत जिते ।
लोकदोहोरीको क्रेज बढेको हो कि घटेको ?
विगतको तुलनामा त बढेकै भन्नु पर्छ । लोकदोहोरी गीतका आफ्नै श्रोता छन् । सांगीतिक कार्यक्रममा सहभागिता जनाउने क्रममा दर्शकहरूले दर्शाउनु भएको मायाबाटै लोकेदोहोरीको क्रेज मापन गर्न सकिन्छ ।
लोकदोहोरी स्रष्टाको आर्थिक पाटो पनि उकासिएको हो ?
आधा दशकयता चलेका लोकदोहोरी गायक–गायिकाले मनग्गे आम्दानी गरिरहेका छन् । अधिकांश गायक–गायिकाका आफ्नै युट्युब च्यानल छन्, त्यहाँबाट आम्दानी समेत भैरहेको छ । त्यसबाहेक देश–विदेशमा आयोजना हुने सांगीतिक कार्यक्रमले पनि हाम्रो जीवनस्तर उकासेको छ ।
अरू विधाका गीत नगाउने ?
लोकदोहारी गायिकाकै रूपमा स्थापित भएकाले अन्य विधाका गीत गाउन भ्याएकी छैन । नढाँटी भन्नु पर्दा मलाई आधुनिक शैलीका गीत गाउने रहर छ । चाँडै नै त्यो रहर पनि
पूरा गर्दैछु ।