अभिनेताद्वय अनमोल केसी र प्रदीप खड्का नेपाली चलचित्रका उदीयमान स्टार हुन् । भव्य स्टारडमका साथ राम्रो फ्यान फ्लोइङ भएका यी दुवै चकलेटी अभिनेताको डेब्यु समय तथा उनीहरूले निर्वाह गर्ने भूमिकामा खासै फरक छैन । उनीहरू दुवै नेपाली चलचित्र उद्योगमा अहिले सबैभन्दा बढी खोजिने सफल र महँगा अभिनेता हुन् । सार्वजनिक कार्यक्रममा प्रस्तुत हुने शैली, पारिश्रमिक एवं चलचित्र सफलताका हिसाबले अनमोल र प्रदीपबीच साइलेन्ट फाइट’ जस्तो पनि देखिन्छ । यद्यपि कला विश्लेषकहरू यी दुई स्टार अभिनेताबीच साइलेन्ट फाइट’ भन्दा पनि ॅचेन्जओभर रन’ चलिरहेको बताउँछन् ।
तपाईंलाई अभिनेता अनमोल केसी मन पर्छन् कि प्रदीप खड्का र किन ?’ साप्ताहिकले आफ्नो आधिकारिक फेसबुक पेज तथा ट्विटर एकाउन्टमा प्रश्न राखेको थियो । त्यसमा २४ घण्टा नबित्दै सयौंले प्रतिक्रिया जनाएर आफ्नो मत जाहेर गरे— कसैले अनमोल त कसैले प्रदीपको पक्षमा । केहीले आफ्नो रोजाइका तेस्रो–चौथो अभिनेताको नाम पनि लिएका छन् । ती सयौं प्रतिक्रियामध्ये केशवबहादुर कुँवरले यो प्रश्न नै गलत छ भन्दै लेखेका छन्, तर उनको कमेन्टको अन्तिम लाइन भने घतलाग्दो छ । जसमा उनी लेख्छन्, ‘... तपाईंलाई आमा मन पर्छिन् कि बाबा भन्यो भने के उत्तर दिनुहुन्छ ?’
केशवले भनेजस्तै कुनै एकको विकल्प अर्को हुन सक्दैन्, तर सत्य के पनि हो भने यतिबेला नेपाली चलचित्र उद्योगको केन्द्रमा यी दुई युवा स्टार छन्, जसलाई एकको विकल्प अर्कोका रुपमा हेरिँदैछ । दुवैको भव्य स्टारडम छ तथा डेब्यु समय, चलचित्रमा निर्वाह गर्ने भूमिका पनि उति धेरै फरक छैन । उनीहरू दुवै लभस्टोरीका लागि खोजिने चकलेटी अनुहार हुन् । दुवै सफल र महँगा अभिनेता । विराज भट्ट र निखिल उप्रेतीको युगपछि आर्यन सिग्देल, जीवन लुइटेल, सौगात मल्ल र दयाहाङ राई आए । त्यसपछि नेपाली चलचित्रमा अर्को पुस्ताका धेरै युवाको ‘इन्ट्री’ भयो, तर पछिल्लो पुस्ताका धेरै युवा हिरोमाझ अनमोल केसी र प्रदीप खड्का ठूलो स्टारडम भएका ओभररेटेड अभिनेता हुन् ।
काठमाडौंका अनमोल फिल्मी विरासत बोकेको परिवारबाट सन् २०१२ मा ‘होस्टल’मार्फत चलचित्रमा आएका हुन् । ललितपुरको कुसुन्तीको मध्यवर्गीय परिवारका प्रदीपले भने सन् २०११ मा आफ्नै ब्यानरमा निर्माण भएको ‘इस्केप’मार्फत डेब्यु गरेका हुन् । अनमोलका पिता भुवन आफैं नेपाली चलचित्रका निर्माता एवं सुपरस्टार हुन्, अनमोललाई चलचित्र क्षेत्रमा स्टार छवि निर्माणका लागि भुवनको विरासतले समेत धेरथोर काम गरेको छ । अनमोलले पहिलो चलचित्र ‘होस्टल’बाटै सफलताको स्वाद चाखे, उनको डेब्यु फिल्म नै हिट भयो । त्यसपछि पनि उनले लगातारजसो हिट फिल्म दिइरहेका छन् ।
तर, ‘इस्केप’मार्फत डेब्यु गरेका प्रदीपलाई भने पहिलो फिल्मले सुखद नतिजा दिएन, त्यसपछि अस्ट्रेलिया हिड्ने तयारी गरिसकेका प्रदीप सन् २०१५ को भूकम्पका कारण रोकिए, त्यही क्रममा उनलाई ‘प्रेमगीत’को अफर आयो । ‘प्रेम गीत’ हिट भएपछि उनले अहिलेसम्म पछाडि फर्किएर हेर्नुपरेको छैन । अनमोल बाबुजस्तै स्टार भैसकेका छन् । प्रदीप भने आफ्नो पारिवारिक विरासत विपरितको क्षेत्रमा हात हालेर स्टारको छवि निर्माण गर्न सफल छन् ।
आखिर केले उनीहरूलाई स्टार बनाएको हो त ? निर्माता तथा निर्देशक विकास आचार्य दर्शकको मन जितेकै कारण दुवैजना स्टार भएको बताउँछन् । ‘उहाँहरूको सिनेमा दर्शकले मन पराइदिनुहुन्छ, स्टारडम बनाउन सफल हुनुभएको छ,’ आचार्य भन्छन्, ‘एकपछि अर्को चलचित्रमा राम्रो अभिनय गर्दै जानुभएको छ, राम्रो हुनुहुन्छ, युवा पुस्ताको आकर्षणमा हुनुहुन्छ ।’ आचार्य दुवैले सकारात्मक कोणबाट सिनेमालाई टेवा पुर्याए भने यसले समग्र नेपाली चलचित्रलाई नै फाइदा हुने देख्छन् ।
पारिश्रमिक, निर्माताहरूको रोजाइ, फ्यान फ्लोइङ आदि हिसाबले यी दुवै एक–अर्काका प्रतिस्पर्धीजस्ता देखिन्छन् । जस्तो बलिउडमा तीन खानको स्टारडमको टक्कर छ, नेपाली चलचित्र उद्योगमा पनि अनमोल र प्रदीपको पनि लगभग त्यस्तै टक्कर देखिन्छ, तर फरक यति हो, उताका खानहरू कहिलेकाहीं गालीगलौजमा पनि उत्रिरहेका हुन्छन्, तर यताका केसी र खड्का भने एक–अर्काको प्रशंसा गरिरहेका हुन्छन् ।
त्यसको उदाहरण मान्नुपर्छ, केही समयअघि प्रदर्शनमा आएको अनमोल अभिनित चलचित्र ‘क्याप्टेन’को ट्रेलर सार्वजनिक भएपछि त्यसलाई सेयर गर्नु । त्यसमा प्रदीपले अनमोलको प्रशंसा मात्र गरेनन्, चलचित्र क्याप्टेनको सफलताका लागि शुभकामना समेत दिए । सार्वजनिक कार्यक्रम तथा एवार्ड समारोहहरूमा पनि दुवै प्रतिस्पर्धीभन्दा पनि साथीजस्ता देखिन्छन्, अंगालो मारिरहेका हुन्छन्, तर त्यस्ता अवसर एकदमै कम देखिन्छन् ।
यद्यपि उनीहरूका केही व्यवहारमा भने प्रतिस्पर्धाको छनक पाइन्छ । जस्तो पारिश्रमिकको बढाबढमै पनि त्यो देखिन्छ । रोचक त के भने अनमोलले बडीगार्ड राख्न थालेपछि प्रदीप पनि बडीगार्डसहित सार्वजनिक कार्यक्रममा देखिएका थिए । यस्ता कुरालाई कतिपयले सामान्य प्रतिस्पर्धा मान्छन्, तर फिल्मको सफलता, कमाइजस्ता कुरामा पनि दुवैबीच प्रतिस्पर्धा रहेको मान्नेहरू उतिकै छन् । कला विश्लेषक प्रकाश सायमीको नजरमा भने उनीहरूबीच प्रतिस्पर्धाभन्दा पनि चेन्जओभर रन चलिरहेको छ । ‘यसलाई फिल्मी भाषामा चेन्जओभर रन भनिन्छ, पर्खंदै–पर्खंदै दौडिएजस्तो,’ सायमीले भने, ‘प्रदीपले कमै मेहनेत गरे पनि राम्रो रिजल्ट आइरहेको छ, अनमोललाई फ्यामिली र ब्यानर पनि उस्तै भएकाले टफजस्तो भैरहेको छ ।’
फरक च्वाइस, बाटो एउटै
दुवै अभिनेता समान्य जीवनयापन गर्छन् । कृष्णभक्त अनमोल शाकाहारी हुन् । उनी सुरुवाती समयमा गीत–संगीतमा रुचि राख्थे । त्यसैले स्कुल पढ्ने क्रममा ‘एनटीओ सेभेन’ ब्यान्डसमेत स्थापना गरेका थिए, तर कालान्तरमा उनी गायक नबनेर ‘होस्टल’ हुदै फिल्मी अभिनेता बने । त्यसबाहेक उनी भ्रमण एवं मुद्रा संकलनमा पनि रुचि राख्छन् । अनमोलका लागि प्रेरणाका स्रोत उनका पिता हुन् ।
सानैमा नेपाल टेलिभिजनमा ‘भुराभुरीको हल्लाखल्ला’मा देखिएका प्रदीप पनि शाकाहारी नै हुन्, तर उनी साइबाबाभक्त हुन् । प्रदीप भन्छन्, ‘म साइबाबालाई मान्छु, किनभने उहाँले धर्म एउटै हो भन्ने सन्देश दिनुभएको छ ।’ प्रदीप सुरुमा टिभीमा कार्यक्रम प्रस्तोता बन्न चाहन्थे । उनी पनि कालान्तरमा अभिनेता बन्न आइपुगे । प्रदीपको प्रेरणाको स्रोत हलिउड अभिनेता लियोनार्दो डि कार्पियो हुन् । प्रदीप फिल्ममा आफूले निर्वाह गर्ने भूमिकाको इनोसेन्स, अन्तर्वार्ताहरूमा स्पष्ट वक्ताका रूपमा आफ्नो प्रस्तुतिलाई दर्शकले मन पराउने कारण मान्छन् ।
अनमोलका सम्बन्धमा
हेमराज बीसी, निर्देशक
अनमोलको अभिनय ठीकै छ, सुधार्नुपर्ने ठाउँ टन्नै छ । नृत्य पनि राम्रो छ, जति स्टारडम र फ्यान फलोइङ छ, त्यसलाई मिट गर्न अझै मेहनत गर्नुपर्छ । अनमोलको जस्तो व्यक्तित्व रेयर मानिसको मात्र हुन्छ । राम्रो मन भएका मानिस कमै हुन्छन्, अनमोल राम्रो मन भएको मान्छे हो । उसको बोल्ने शैली जेन्टल छ, मानिसहरू उसको व्यक्तित्व र बोल्ने शैलीबाट पहिलो भेटमै प्रभावित हुन्छन्, फ्यान भइन्छ । उसको पर्सनालिटीले सबैलाई आकर्षित गर्छ । उसको सबैभन्दा राम्रो पक्ष पोजिटिभ एटिच्युड छ । उसको वरिपरि हुँदा अरूमा पनि नेगेटिभ कुरा आउँदैन, तर नकारात्मक पक्ष अलि बढी एक्लै बस्छ, सोसल लाइफ कम छ । लिमिटेड मानिससँग मात्र भेटघाट हुन्छ । अझ काम नभएका बेला त एकदम थोरै मानिससँग भेट्छ । सेलिब्रेटी भएपछि अलि सोसल लाइफ पनि हुनुपर्छ ।
दिवाकर भट्टराई, निर्देशक
अभिनयमा अनमोल राम्रो प्रयास गर्छन् । निर्देशकले कन्सेप्टमा कन्भिन्स गर्यो भने उनी त्यसमा खरो उत्रन सक्छन् । उनी इन्डिपेन्डेन्ट एक्टरभन्दा पनि डाइरेक्टर डिपेन्डेन्ट एक्टर हुन् । उनको अभिनयको करिअर छोटो भएकाले पनि त्यसो भएको हुन सक्छ । नृत्यमा पनि अहिले पहिलेको तुलनामा धेरै राम्रो भैसकेको छ । निर्देशकले गराउन चाहेको नृत्य बुझाए उनी गर्न सक्छन् । मैले अहिलेसम्म जति संगत गरेको छु, त्यस आधारमा उनी डिसेन्ट खालका मान्छे हुन् । जेनयुन छन् र अनुशासित स्वभावका छन् । पोजिटिभिटी उनको सकारात्मक पक्ष हो । बाहिरबाट हेर्दा उनी त्यति सोसियल देखिँदैनन्, कम्युनिकेसन गर्दैनन् भन्ने अरुलाई लाग्न सक्छ ।
सुहाना थापा, अभिनेत्री
मैले चलचित्र होस्टल हेरेपछि नै उसलाई दर्शकले याद गर्ने कलाकारका रूपमा रहेको देखे । म पनि के विश्वास राख्छु भने कलाकार भएपछि आफ्नो अभिनयमा विविधता ल्याउनुपर्छ । अभिनयको यो विविधतालाई दर्शकले हृदयमा राख्न सक्ने किसिमको अभियन गर्नु नै वास्तविक कलाकार भएको मानिन्छ । उसको आवाज एकदमै राम्रो छ । नृत्य उसका लागि सधैं चुनौतीका रूपमा रहेको छ, तर उसले आफ्नो नृत्यमा सुधार गर्दै लगिरहेको छ । उ एकदमै सहृदयी, आफ्नो धरातल नबिर्सने, धैर्यवान र सकारात्मक सोच भएको व्यक्ति हो । सकारात्मक पक्ष उसको धारणा भनेकै सबै मानिस सकारात्मक सोचका हुन्छन् भन्ने नै हो । किनभने उ कृष्णभक्त हो । उसको खराव बानी नङ टोक्ने हो । उसको यो बानी मलाई मन पर्दैन र म उसलाई त्यसो नगर्न भनिरहेकी हुन्छु । उसको मेहनत र अनुसासनले गर्दा नै उसलाई यो क्षेत्रको आकर्षक अभिनेता बनाएको हो ।
उपासना सिंह ठकुरी, अभिनेत्री
अनमोलको अभिनय एकदमै राम्रो छ । फिल्मपिच्छे एप्रुभ पनि हुँदै गएको छ । उनी भर्सटाइल छन्, जुनसुकै रोलमा फिट हुन्छन् । नृत्य पनि ठीकै छ । उनको स्टाइल नै त्यस्तो छ । उनले नृत्य पनि कृ र क्याप्टेनमा मात्र गरेका छन् । मलाई दुवैमा उनको नृत्य राम्रो लाग्यो । उनको ब्यक्तित्व पनि एकदम भलादमी छ । सबैजनासँग राम्रो ब्यवहार गर्छन्, रेस्पेक्ट गर्छन् । सुटिङका बेला रमाइलो गरिरहेका हुन्छन्, हँसाइरहेका हुन्छन् । हामी नयाँलाई सिकाउने बानी पनि मन पर्यो । मैले अनमोलसँग जति समय संगत गरे, त्यस्तो नकारात्मक पक्ष केही फेला पारिन् । उनी चाँडै स्टार हुनुमा कतिले लुक्स फ्याक्टरलाई महत्वपूर्ण मान्छन् तर मलाई त हार्डवर्कले नै उनलाई स्टार बनाएको हो जस्तो लाग्छ ।
प्रदीपका सम्बन्धमा
मिलन चाम्स, निर्देशक
मैले प्रदीपसँग काम गर्दाको मेरो अनुभव राम्रो रह्यो । राम्रो अभिनय गर्छन्, क्यारेक्टर सुहाउँदो अभिनय गर्न सक्ने खुबी भएका अभिनेता हुन् । नृत्यमा अलिकति सुधार गर्नुपर्छ । सिकाउँदा गर्न सक्छन्, तर उनी खतरा डान्सर होइनन् । भलादमी व्यक्तित्व छ, काममा सिन्सिनियर भएर लाग्छन् । फिल्म सुटिङ सुरु भएपछि रिलिजसम्म एकदमै खटेर लाग्ने कलाकार हुन् । अनुशासन उनको अर्को सकारात्मक पक्ष हो । प्रदीपको अलि धेरै चिन्ता गर्ने र अरूको विषयमा चासो दिने बानी अलि नकारात्मक छ । उनी मेहनत, राम्रो प्रोजेक्ट र ब्यानरहरूमा काम गर्ने अवसर पाएकै कारण चाँडै स्टार बन्न सफल भएका हुन् । त्यसमा पनि मुख्य कुरा त उनको मेहनत नै हो ।
गोविन्द शाही, निर्माता
प्रदीपको अभिनय जीवन्त छ । राम्रो लुक्स र जीवन्त अभियनका कारण उनी राम्रो भविष्य भएका कलाकार हुन् । चलचित्रलाई आवश्यक परेको नृत्य पनि गर्न सक्छन् । म प्रदीपलाई इमानमा चल्ने कलाकारका रूपमा हेर्छु । उनको ब्यक्तित्व सरल, साधारण र मिलनसार छ । टिमलाई विश्वास गर्ने, आफ्नै मुभी हो भन्ने सोच राखेर निर्मातासँगै मिलेर काम गर्ने कलाकार, रातदिन खट्ने, जुन बेला बोलाए पनि कामका लागि नाइनास्ति नगर्नु उनका सकारात्मक पक्ष हुन् । अहिलेसम्म मैले उनमा त्यस्तो नकारात्मक पक्ष केही देखेको छैन । तीन वर्ष भयो मैले चिनेको । त्यसका आधारमा केयरफूल, साथीभाइसँग हेल्पफूल स्वभाव एकदमै राम्रो लाग्छ । म हरेक किसिमले एकदमै सम्भावनाका बोकेका कलाकार रूपमा हेर्छु उनलाई । अभिनय, लुक्स, हिरोमा हुनुपर्ने सबै गुण र खुबीका कारण दर्शकले माया गरेर नै प्रदीप स्टार कलाकार बन्न सफल भएका हुन ।
पुजा शर्मा, अभिनेत्री
प्रदीपको अभिनय ठीकै छ । मलाई नृत्य पनि ठीकै लाग्छ । व्यक्तित्व पनि राम्रै छ । उनलाई चलचित्रको राम्रो कथा तथा अभिनयले हिट बनाएको मान्छु । लुक्स त सर्टेन समयका लागि मात्र हो, त्यसले एकचोटी तान्ला लामो समय तान्दैन । मुख्य कुरा त चलचित्रको कथा र अभिनय नै हो । प्रदीपको नकारात्मक पक्ष उनलाई बोल्दाबोल्दै के बोलिरहेको छु, पत्तो नचल्नु हो ।
जसिता गुरुङ, अभिनेत्री
एकदमै राम्रो नेचुरल अभियन छ । मेहनती हुनुहुन्छ । क्यारेक्टरअनुसार फरक–फरक भूमिकामा पनि न्याय गर्न सक्नुहुन्छ । सबै क्यारेक्टरमा उत्तिकै जमेर अभिनय गर्नुहुन्छ । उहाँको नृत्य पनि ठीकै छ, अझै अभ्यास गर्नुभयो भने नृत्यमा थप निखार आउने देख्छु । व्यक्तित्व पनि सकारात्मक किसिमको छ । सधैं खुसी रहन रुचाउनुहुन्छ, अरूलाई पनि खुसी राख्ने प्रयास गर्नुहुन्छ । डाउन टु अर्थ किसिमको व्यक्तित्व छ । दयालु पनि हुनुहुन्छ । दयालु, डाउन टु अर्थ तथा सकारात्मक सोच उहाँका सकारात्मक पक्ष हुन् । झनक्क रिसाउनु उहाँको नकारात्मक पक्ष हो । चाँडै रिसाए पनि त्यो रिस भने पाँच मिनेटभन्दा टिक्दैन । जो कसैप्रति चाँडै विश्वास गर्नु उहाँको अर्को दुर्बल पक्ष हो जस्तो लाग्छ ।