साप्ताहिक संवाददाता
कतारले सन् २०२२ मा आयोजना गर्न लागेको विश्वकपलाई सर्वाधिक महत्वाकांक्षी मानिएको छ । सबैले चर्को गर्मी हुने कतारले कसरी खेलाडी तथा दर्शकलाई शीतलता दिएर प्रतियोगिता सम्पन्न गर्छ भन्ने कुरा नै उसको मुख्य चुनौती रहेको कुरा बताइरहेका बेला आयोजक कतारले यही कुरालाई विशेष ध्यान दिएर स्टेडियमहरू निर्माण गरिरहेको छ ।
त्यसमा पनि कतारको राजधानी दोहावाट २० किलोमिटर दक्षिणमा निर्माण भएको अल बख्रा स्टेडियमको विषयमा चलेको चर्चा अहिले भाइरल भैरहेको छ । इराकी मूलकी ब्रिटिस आर्किटेक्ट डामी जाहा हदिदीले अरब क्षेत्रमा प्राचीन समयमा चल्ने डुङ्गाको आकारमा उक्त स्टेडियम तयार पारिने कुरा सन् २०१३ मै सार्वजनिक गरेकी थिइन् ।
सन् २०१६ मा उनको हृदयाघातका कारण मृत्यु भए पनि सोही डिजाइनमा अहिले अल बख्रा स्टेडियम तयार भएको छ । ४० हजार दर्शक क्षमताको यो स्टेडियमले खेलाडी तथा दर्शकलाई शितलता प्रदान गर्ने भरपुर प्रयास गरेको छ ।
एक एरियल फोटोग्राफी लिने बेलामा उक्त स्टेडियमको आकार महिलाको गोप्य अंगजस्तो देखिएपछि यो स्टेडियम फेरि चर्चामा आएको छ, जसका कारण अहिले सामाजिक सञ्जालमा यो स्टेडियमलाई ‘योनि रंगशाला’ बताउन थालिएको छ ।