साप्ताहिक संवाददाता
दुई भिन्न संगीत एवार्डका मनोनयन सूची सार्वजनिक भएका छन् । जेठ ११ गते वितरण गरिने पहिलो जिनियस म्युजिक एवार्ड–२०७६ तथा साधना म्युजिक एवार्ड–२०७६ को मनोनयन सूची सार्वजनिक भएको हो ।
जिनियस म्युजिकले स्थापनाको दश वर्ष पूरा भएको अवसर पारेर पहिलो पटक आयोजना गर्न लागेको ‘जिनियस म्युजिक एवार्ड–२०७६’ को मनोनयन सूची सार्वजनिक गरेको छ । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सञ्चालन हुने एउटा विशेष सांगीतिक समारोहमा विभिन्न ४८ विधाका उत्कृष्ट संगीतकर्मी तथा स्रष्टालाई उक्त एवार्ड वितरण गरिने आयोजक संस्थाले जनाएको छ ।
एवार्डमा २०७५ साल वैशाखदेखि २०७५ साल चैत मसान्तसम्म बजारमा आएका गीत–संगीतलाई समावेश गरिएको आयोजक संस्थाका प्रमुख रमेश पाठकले जनाएका छन् । एवार्डका लागि उत्कृष्ट राष्ट्रिय भावनाको गीत, चलचित्र (गीतकार, गायक, गायिका, संगीतकार), लोक तथा दोहोरी, आधुनिक, पप, बाल गीत, म्युजिक भिडियो (महिला तथा पुरुष मोडल, छायांकार, सम्पादक, निर्देशक), संगीत संयोजक, ध्वनि मुद्रक आदि समावेश छन् ।
‘अग्रजलाई सम्मान नवलाई प्रोत्साहन, कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान’ भन्ने नाराका साथ प्रस्तुत हुन लागेको साधना म्युजिक एवार्ड–२०७६ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । ३८ विधामा १ सय ९० जना कलाकर्मीले यो एवार्डमा प्रतिस्पर्धा गर्नेछन् ।
जुरी र आयोजक समितिको निर्णयका आधारमा उत्कृष्ट पाँच छनौट गरिएको एवार्ड आयोजक समितिकी अध्यक्ष सामना शाहद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सामना म्युजिक एन्ड क्रिएसनले आयोजना गर्न लागेको यो एवार्डमा राष्ट्रिय, आधुनिक, लोकदोहोरी, लोक तथा पप विधामा देशभरका कलाकर्मीहरूले सहभागिता जनाएका छन् । अनलाइन भोटिङ र जजहरूको मूल्यांकनका आधारमा एवार्डको निर्णय गरिनेछ ।
शाहका अनुसार एवार्डमा ५० प्रतिशत भोटिङ बाँकी ५० प्रतिशत बाँकी जुरी समितिको मतलाई आधार मानेर विजेताको घोषणा गरिनेछ । साधना म्युजिक एवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्याउने एक जना विशिष्ट व्यक्तिलाई ‘लाइफ टाइम अचिभमेन्ट एवार्ड’ प्रदान गरिनेछ भने नेपाल कलाक्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।