साप्ताहिक संवाददाता
गत शुक्रबार प्रदर्शनमा आएको चलचित्र पसिना समग्रमा कथाको दृष्टिले उत्कृष्ट थियो । यद्यपि यो चलचित्र कम लगानीमा बनेकाले प्रसस्त कमी–कमजोरी फेला पर्छन् । चलचित्र पसिना यतिबेला सिंगल हलहरूमा मात्र लागेको छ । सुरुमा निर्माण पक्षले मल्टिप्लेक्समा पनि यो चलचित्र लाग्ने बताएको थियो, तर डिस्ट्रिब्युटरहरूको बदमासीका कारण चलचित्रले घाटा बेहोर्नुपरेको चलचित्रका निर्देशक आरबी क्षेत्रीले आरोप लगाएका छन् । ‘यो चलचित्र डि सिनेमा, बिएसआर, राइजिङ मल, केएल टावर आदिमा प्रदर्शन हुने भनेर पैसा तिरी पहिलेदेखि नै ट्रेलर बजाएका थियौं ।’
‘यद्यपि डिस्ट्रिब्युटरको बेइमानीका कारण ती हलमा चलचित्र प्रदर्शन हुन सकेन ।’ यसैकारण यो चलचित्रले लगानी उठाउनेमा निर्माण पक्ष आफैं ढुक्क छैन । यद्यपि गुण, गोपीकृष्ण, अष्टनारायण, गंगा, बाराही आदि सिनेमा हलमा भने चलचित्र चलिरहेको छ । ती हलमा पुगेका दर्शकहरूले भने चलचित्रको प्रशंसा नै गरेका छन् ।
चलचित्र पसिनामा सरोज खनाल, गौरव पहारी, अनु शाह, सरोज अर्याल आदि कलाकारको मुख्य भूमिका छ । पछिल्लो समय निर्माण भएका चलचित्रमा मजदुरको कथा खासै देख्न पाइँदैन । ‘गरौं सत्कर्म, बगाऊँ पसिना’ भन्ने नारा बोकेको यो चलचित्रले पसिनामात्र बगाएर हुँदैन, त्यो पसिनालाई सार्थक तुल्याउन सत्कर्म आवश्यक रहेको सन्देश समेत दिन्छ ।
त्यसैले यो चलचित्रले आमदर्शकको कथा बोलिरहेको अनुभूति हुन्छ । चलचित्रमा सरोज खनाल एउटा इमान्दार प्रहरी निरीक्षकको भूमिकामा छन् । उनको भूमिकाले जति नै नराम्रा सोंच–विचार भएका मानिसको बीचमा एउटा इमान्दार र कर्तव्यनिष्ठ व्यक्ति भयो भने उसले समाजलाई प्रसस्त योगदान दिन सक्छ भन्ने सन्देश दिन्छ । यस्तै गौरब पहारीले चलचित्रमा कर्तव्यनिष्ठ र देशभक्तिको भावना भएका शिक्षकको भूमिका निर्वाह गरेका छन् ।
उनी जति परिश्रम गर्ने हो आफ्नै माटोमा गर्नुपर्छ, आफ्नै माटोमा पसिना बगाउनुपर्छ भन्ने मान्यता राख्छन् । यस्तै अनु शाहले पत्रकारको भूमिका निर्वाह गरेकी छिन् । एउटा पत्रकारले गहिरो अध्ययन अनुसन्धार गरेर कुनै राम्रो समाचार लेख्यो भने त्यसले पनि समाजलाई परिवर्तन गर्न सक्छ भन्ने सन्देश उनको अभिनयले दिन्छ । यस्तै चलचित्रको मुख्य भूमिकामा रहेका कलाकार सरोज अर्याल एउटा ठेलागाडा चलाउँछन् ।
उनले केही समयपछि ठेलागाडा छाडेर तरकारी पसल राख्छन् । सर्सती हेर्दा यो एउटा मजदुरको कथा–व्यथामा आधारित चलचित्र हो । त्यसो त समाजमा हुने विभिन्न पात्रलाई चलचित्रमा समावेश गरिएको छ । मध्यान्तरभन्दा अघि धेरै पात्र समावेश भएकाले चलचित्र गञ्जागोल पनि देखिएको छ । एउटा पात्रलाई केन्द्रमा राखेर चलचित्र अघि बढाइएको भए सुनमा सुगन्ध हुने थियो ।
तैपनि चलचित्रको कथा उठानमा भने खोट लगाउने ठाउँ छैन । चलचित्रमा लगानी कम भएकाले समग्र मेकिङ त्यति उत्कृष्ट बन्न सकेको छैन । चलचित्रको गीत–संगीतको पक्ष राम्रो छ भने छायांकन गतिलो छैन । निर्देशकले पनि चलचित्रलाई राम्रो बनाउन निकै प्रयास गरेको पाइन्छ । तैपनि उनले मध्यान्तरभन्दा अघि थोरै मेहनत गरेको भए कम लगानीमा निर्माण भए पनि मेकिङ पक्ष राम्रो हुनसक्थ्यो ।