साप्ताहिक संवाददाता
लागू औषधका कारण युवाहरूको मृत्युको क्रम नरोकिएपछि युवा अभियान नेपाल, बर्दिबासका युवाहरूले बर्दिबास नगरपालिकाको सहयोगमा लागू औषध दुर्व्यसनविरुद्ध नाटक बिम्ब प्रतिबिम्ब मञ्चन गरेका छन् ।
स्थानीय स्तरमै रहेका केही कलाकार तथा केही राष्ट्रिय स्तरका कलाकारले अभिनय गरेको उक्त नाटक कलाकार सुभाष गजुरेल तथा समाजसेवी विष्णु बम्जनको संयोजकत्वमा तयार भएको हो । ईश्वर पोखरेलको लेखन तथा राजु दोङको निर्देशनमा तयार भएको नाटकमा अनिल दाहाल, राजु दोङ, इन्द्र थापा, जीवनराज दाहाल, ममता अधिकारी, सोबिका क्षेत्री, मदन सुनदास, सविना लाम्गादे, रामबाबु महतो आदि कलाकारले अभिनय गरेका छन् ।
‘युवा अभियान नेपालको प्रयास, दुर्व्यसनमुक्त बर्दिवास’ भन्ने नाराका साथ प्रारम्भ भएको उक्त सडक नाटक खयरमारा, हाथिलेट, किसाननगर, बिजलपुरा तथा बर्दिवास वरपरका स्कुल–कलेजका साथ बर्दिवास नगरपालिकाका विभिन्न ठाउँमा मञ्चन भैरहेको छ ।