साप्ताहिक संवाददाता
लिभरपुलका पूर्वफुटबलर नील रुडोक उमेरले ५० वर्ष पुगिसकेका छन् । पहिलो श्रीमतीसँग अलग भएका नील अहिले आफूभन्दा १३ वर्ष कान्छी लेह न्यूम्यानसँग वैवाहिक जीवन बिताइरहेका छन् । लेह मोडल भएका कारण उनलाई श्रीमान्को तालु टाउको मन परेको थिएन ।
उनले नीलको तालु टाउको देखिएका सबै तस्बिर लुकाउन थालिन् र भन्न थालिन्— कपाल रोपेर भए पनि टाउकोमा कपाल देखाउनुपर्यो ।
तरुनी श्रीमतीको सल्लाह मान्दै नीलले हालै ब्रिटेनको लोकप्रिय हेयर ट्रान्सप्लान्ट गर्ने व्यक्तिसँग आफ्नो टाउकोमा कपाल रोपाए । फुटबल जीवनबाट अलग भएपछि नीलको खानपिन अव्यवस्थित भएको थियो, जसका कारण उनको शरीर धेरै नै मोटो भएको छ ।
नील भन्छन्— मैले सबै कुरामा नियन्त्रण गर्न सके पनि खानपिनमा नियन्त्रण गर्न सकिनँ । यदि मैले शरीरलाई पहिलेकै अवस्थामा ल्याउन डाइटिङ गरें भने पनि ३० वर्ष लाग्छ । लेहको आगामी योजना निकको अनावश्यक तौल घटाउने पनि छ ।