रंगमञ्चमा अघि बढिरहेका युवा निर्देशक हुन्— चे शंकर । यतिबेला उनी पोखरा थिएटरको सातौं प्रस्तुतिका रूपमा मञ्चन हुन लागेको नाटक ‘तिर्खा’ को निर्देशनमा व्यस्त छन् । गत चैतको अन्तिम सातादेखि पोखरामै रहेका शंकरले हरेक दिन कलाकारलाई आफ्नो भूमिकाप्रति उत्तरदायी बन्दै आफ्नो भूमिकालाई उत्कृष्ट बनाउन मद्दत गर्दै आएका छन् । तिर्खा नाटक उनकै परिकल्पना एवं निर्देशनमा मञ्चन हुन लागेको हो । यो नाटक १६ वर्ष माथिका उमेर समूहकाले मात्र हेर्न पाउनेछन् ।
तिर्खा नाटक अमेरिकी नाटककार युजिन ओनिलको डिजायर अन्डर दि एल्म्समा आधारित छ । सन् १९२४ मा अमेरिकाको परिवेशमा लेखिए पनि यो नाटक हाम्रो समाजमा अझै पनि उत्तिकै सान्दर्भिक छ । मातृत्वको अभावले सिर्जना गरेको मनोवैज्ञानिक असर, हरेक पात्रहरूको नियति एवं अडिपस कम्प्लेक्सले गर्दा नाटक हरेक मानिससँग मनोवैज्ञानिक, शारीरिक, सांस्कृतिक तथा सामाजिक रूपले गाँसिएको छ ।
नाटकमा शरद भण्डारी, नवराज गिरी, रजनी हमाल ठकुरी, रमेश बाबु तिमल्सिना, निश्चल विमल आदि कलाकारको अभिनय रहनेछ । यो नाटकका पात्रहरू मानिसभित्रको यौनिकता तथा डिजायर प्राप्त गर्ने चाहनामा घुमिरहेका हुन्छन् । फरक डिजाइनमा निर्माण गरिएको समाजसँग जोडिएको नाटक हो यो । विषय गहन विषय छ तर नाटकले दर्शकलाई बाँधेर राख्छ । स्टेज डिजाइन, साउन्ड, म्युजिक, कस्टुमले समेत नाटकलाई उत्कृष्ट बनाउन मद्दत गर्नेछ । ‘रिहर्सल रमाइलो भएको छ, सिक्ने तथा सिकाउने हुटहुटीले सबैमा उर्जा थपिएको छ,’ शंकरले भने ।
पोखरापछि चे शंकरले विराटनगरको नाटक वर्कसपमा सहजीकरण गर्नेछन् भने बिर्तामोडमा वर्कसपसहित उनकै निर्देशनमा ‘रुवा’ नाटक मञ्चन हुनेछ । काठमाडौं फर्किएपछि भने अन्य नाटकमा व्यस्त हुने शंकरले बताए ।
विदेश गएर नाटकसम्बन्धी अध्ययन गरी त्यहाँ सिकिएका कुरा आफ्नो देशमा प्रयोग गर्ने धोको उनमा छ । ‘नेपालमै बसेर अध्ययन गर्न सम्भव छैन, विदेश जाँदा खर्च बढी लाग्छ, छात्रवृत्तिका लागि प्रयास गरे पनि सफल भएको छैन’ शंकरले भने । तिर्खा नाटक जेठ ९ गतेदेखि जेठ २५ गतेसम्म गर्न्धव नाटकघरमा मञ्चन हुनेछ । झन्डै १ घण्टा ४० मिनेट अवधिको यो नाटकमार्फत दर्शकले आफूलाई पाउने उनको विश्वास छ ।
पहिलो पटक सन् २०१२ मा ‘इलुजन’ नाटक निर्देशन गरी नाट्य क्षेत्रमा डेब्यु गरेका चे शंकरले हालसम्म एक दर्जनभन्दा बढी नाटक निर्देर्शन गरिसकेका छन् । उनी चौकुस फिल्म प्रोडक्सनमार्फत छोटा चलचिक्र निर्माणमा समेत सत्रिय छन् । त्यसका अतिरिक्त शंकरले विभिन्न ओपन नाटक तथा सडक नाटकमा काम गरिसकेका छन् । शंकरको जन्म धादिङमा भएको हो ।